काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएर शाक्यलाई नियुक्त गरेको थियो।
शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने उनले बताए । ‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’
आफू ०७७ सालमा केही समय कार्यकारी निर्देशक हुँदा अहिलेभन्दा पनि विश्वासिलो बिजुली दिइएको उनले बताए ।
उद्योगमा त्यसबेला लोडसेडिङ नगरिएको उनको भनाइ थियो ।
‘अबको चुनौती विश्वासिलो बिजुली हो, लोडसेडिङ ओइन । अब विद्युत्को गुणस्तर वृद्धि हुन्छ । दिनमा एकपटकभन्दा बढी ट्रिपिङ नहुने वातावरण बनाउँछ,’ उनले भने ।
डेडिकटेड र ट्रंकलाइन विवादको समाधान प्राविधिक रुपमा यसको निकाल्नुर्ने उनले बताए ।
‘त्यो निस्कन्छ पनि । यो मेरो लागि अवसर हो,’ उनले भने । विद्युत् प्राधिकरणमा कोही व्यक्ति नहुँदैमा भारतले विद्युत् दिन छोड्ने भन्ने बेकारको हाल्ला भएको उनले बताए । ‘प्राधिकरण ०४१ सालदेखिको संस्था हो । जो व्यक्ति आए पनि फरक पर्दैन,’ उनले भने ।
उनले अबको एक दुई हप्ताभित्रै नतिजा देखिनेगरी काम गर्ने पनि बताए ।
‘लोडसेडिङ हुँदैन । करिब एक दुई हप्ताभित्र मैले त्यो नतिजा देखाउँछु,’ उनले भने ।
प्रतिक्रिया