काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् ।
गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।
उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’
धेरै वर्षपछि आफ्नो जन्मथलो गोरखा आउँदा खुसी लागेको उनको भनाइ छ । पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन् ।
पूर्वराजा शाहले शनिवार गोरखा जिल्लामा गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन्। शनिवार बिहान १० बजे गोरखा आइपुगेका उनले राजदरबारका कुलदेवता गोरखकाली र गोरखनाथको पूजाआजा सम्पन्न गरे। पूजाआजा १० बजेदेखि १२ बजे सम्म दुई घण्टासम्म चल्यो।
शुक्रवार साँझ चितवनको कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा बसेर शनिवार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका पूर्वराजालाई राजावादी व्यक्तिहरू, संस्था र पार्टीका कार्यकर्ताहरूले स्वागत गर्दै मोटरसाइकल र्यालीका साथ गोरखा भित्र्याएका थिए।
पूजाआजा पछि, दिउसो १ बजे गोरखाका स्थानीयबासीसँग भेटघाट गर्दै स्वागत ग्रहण गरेका थिए। शाह बा २१ च ७३१८ नम्बरको गाडीमा पृथ्वी राजमार्ग हुँदै गोरखा पुगेका थिए। शनिवारको दिन चैत्र कृष्ण अष्टमी र गोरखकाली पूजा पर्व पनि परेको थियो, र सोही अवसरमा पूर्वराजा गोरखा आएका थिए।
सप्ताहान्तको भ्रमणको क्रममा, गोरखकाली र गोरखनाथको पूजा गर्दै, शाहले ऐतिहासिक गोरखा दरबार अवलोकन पनि गरेका थिए। यस अवसरमा उनलाई तान्त्रिक देव बज्रभैरवका भक्त बज्राचार्य र बज्रयानहरूले विशेष प्रार्थनासहित टिका र प्रसाद ग्रहण गराए।
शाहको भ्रमणको आन्तरिक व्यवस्थापनको लागि १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो, जसले राजावादीका नारा सहित स्वागत र मोटरसाइकल र्याली आयोजना गरेको थियो।
शनिवार अपरान्ह शाह चितवन फर्केर सोही रिसोर्टमा पुनः बसेका छन्।
आइतबार बिहान गोरखा जिल्लाको मनकामना मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया