काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् ।
मंगलबार एक कार्यक्रममा उनले पहिलेका राजा महाराजाहरूलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मूर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठुलो मूल्य चुकाउनुपर्ने बताए ।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुस्साहस भएको पनि उनको भनाइ छ ।
उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ । यो सबैभन्दा ठुलो ऐतिहासिक उपलब्धि हो । जसले जनतालाई व्यक्ति, राजा महाराजा र तानाशाहाको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ । आज यहीमाथि केही मानिसहरूले प्रश्न उठाउने प्रयास र दुस्साहस गरेका छन् । पहिलेका राजा महाराजाहरू जसलाई इतिहासको विषय बनाई सकेको छ नेपाली जनताले, नेपाल र नेपालको संविधानले फेरि अर्को मूर्खता नगरौँ त्यसो भयो भने त्यसले निकै ठुलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ ।’
उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाउँसम्म आई पुगेको भन्दै यसैको बलिदानको फलको रूपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन् ।
उनले आज सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रूपमा पनि एउटा बिन्दुमा पुर्याउनु पर्ने भन्दै त्यसको लागि आफ्नो ठाउँबाट खेल्ने भूमिका इमानदारिताका साथ निभाउने बताए ।
उनले भने, ‘हामीले सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रूपमा पनि एउटा बिन्दुमा पुर्याउनु नै पर्छ । म आज तपाईँहरूको अगाडि संकल्पसहित घोषणा गर्न चाहन्छु छिटै नै क्रान्तिकारी माओवादी धाराहरू जो वैज्ञानिक समाजवादप्रति इमानदार भएर अन्तिम समयसम्म लड्न तयार छन् । उनीहरू छिटै एकताबद्ध हुनेछन् मैले त्यसको लागि आफ्नो ठाउँबाट खेल्ने भूमिका म इमानदारिताका साथ खेल्ने छु भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
एउटा सकारात्मक एकताको सन्देश र फेरि एउटा नयाँ ध्रुवीकरणको अभियानको लागि संकल्पको संकेत गरेको उनकाे दाबी छ।
प्रतिक्रिया