+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहमा विकृति

सिरहा क्याम्पस बनाउन ‘यज्ञ आयोजन’, दानमा उठेको रकम गाउँपालिका अध्यक्षको निजी खातामा

पालिका लाइभ
२०८१ फाल्गुन २८, बुधबार १०:३४ बजे

सिरहा- औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर, यज्ञमा दान बापत संकलित रकम अपारदर्शी रूपमा  गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलीप यादवको नाममा निजी खाता खोलेर जम्मा गरिएको छ ।

औरही स्थित एनएमबी बैंकमा खाता नं. ११२०१४६२७३९०००२० नं. बचत खाता खोलिएको छ। खाता सञ्चालकमा पालिका अध्यक्ष र यादवलाई राखिएको छ  यस सम्बन्धमा अध्यक्ष यादवसँग जिज्ञासा राख्दा भने, ‘खाता खोल्न संस्था दर्ता गर्नुपर्छ र दर्ता गर्न निकै समय लाग्छ, त्यसकारण निजी खाता खोलेर रकम जम्मा गरेका हौँ।’

अध्यक्ष यादवको भनाइमा आपत्ति जनाउँदै स्थानीयहरू भन्छन्, ‘गाउँपालिकाकै सिफारिसमा क्याम्पस निर्माण उपभोक्ता समिति बनाएर समितिको नाममा विधिवत् खाता सञ्चालन हुन सक्थ्यो। खाता सञ्चालकमा अध्यक्ष स्वयं बसे पनि खाता संस्थागत हुन्थ्यो । निजी खातामा जम्मा गरेको रकमको के भरोसा ?’ उनले भने, ‘भोलिका दिनमा दिन्नौ, यो त हाम्रो निजी हो भनिदिए भने कानुनले पक्रने ठाउँ नै रहँदैन ।’

२० लाख जम्मा हुँदा १० लाख मात्र भयो भन्न सक्छन् । अर्काको निजी खाताको बैंक स्टेटमेन्ट देखाऊ पनि भन्न मिलेन उनको कथन थियो । उनले संस्थागत रकम निजी खातामा राख्नुमा बदनियत भएको आशंका गरे ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालसँग प्रश्न गर्दा उनले भने , ‘कति तिर हेर्नु ? यस्ता कुरा पनि हामीले नै हेर्नु पर्ने ? खाता खोल्दा पालिकाको सिफारिसमा संस्थागत खाता खोलेको भए राम्रो हुन्थ्यो । तर म बुझेर भन्छु, के भएको रहेछ ।’

अध्यक्ष यादव भन्छन् ‘विरोध गर्नेहरू राक्षस हुन् । जसरी राक्षसहरूले गुरु विश्वामित्र यज्ञमा विघ्न हालेर नष्ट गर्थे त्यसैगरी अहिलेका यी मानव रुपी दानवहरू विरोध गरेर बाधा पुर्‍याइरहेका छन् । हामीले खातामा रकम जम्मा गर्दा के भयो ? पारदर्शी रूपमा हिसाब देखाइ दिन्छौँ ।’

‘पालिकाले चन्दा उठाएको रकम निजी खातामा राख्नु गैरकानुनी हो,’अधिवक्ता प्रशान्त साह भन्छन्, ‘हर हालतमा सार्वजनिक रकम संस्थागत खातामा हुनुपर्छ । संस्थागत खाता छ भने मात्र सरकारी निकायको पहुँचमा हुन्छ ।’

यज्ञमा गाउँपालिकाले १० लाख आर्थिक साहायता प्रदान गरेको छ ।

गाउँपालिकाको बजेटबाट यज्ञ सञ्चालन गरिएको छ । कति रकम दान उठ्यो त भन्ने प्रश्नमा अध्यक्ष यादव भन्छन्, ‘नगद थोरै उठेको छ, जुन रकम व्यवस्थापन मै खर्च भएको छ,’ उनी भन्छन् ‘पछि दिन्छौ भनेर उधारो दान गर्नेहरूले वचन दिएको रकम १५ लाख जति भएको छ । उठ्यो भने खातामा राख्छौँ ।’

क्याम्पस दर्ता भएको छैन । क्याम्पस खोल्ने विधिवत् स्वीकृति लिइएको छैन ।

क्याम्पसको लागि जग्गाको प्रबन्ध भएको छैन । अध्यक्ष भन्छन्,‘औरही माध्यमिक विद्यालयको भवनमा तत्कालका लागि क्याम्पस सञ्चालन गर्छौँ । विद्यालयकै १२ बिघा जग्गा छ त्यसैमा क्याम्पस बनाउँछौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ