+
Search

ताजा अपडेट +

पपुलर +

‘एग्रो पुलिङ्’ कार्यक्रमबाट काठमाडौंसँग सम्बन्ध गाँसिने भएपछि डोल्पाका स्थानीय तह उत्साहित

4KNationalDaily
२०८१ फाल्गुन २७, मंगलवार १५:२५ बजे

काठमाडौं- सेफोक्सुण्डो गाउँपालिका र छार्का ताङ्सोङ् गाउँपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता  डंगोलसंग भेटघाट गरेर कृषि उत्पादनमार्फत सम्बन्ध राख्न उत्साहित भएको बताएका छन् ।

महानगरले कार्यान्वयनमा ल्याएको एग्रो पुलिङ् कार्यक्रमका विषयमा छलफल गर्दै उनीहरूले विभिन्न जातका जडीबुटी, फापरलगायत खाद्यान्न, सिमीलगायत गेडागुडी, आलुलगायत तरकारी, दूध, मासुलगायत पशुजन्य उत्पादन, ऊन, पस्मिनालगायत लत्ताकपडा काठमाडौंलाई दिन सकिने बताए ।

यसबाट स्थानीयको आयमा वृद्धि बताउँदै उनीहरूले, डोल्पाबाट धेरैले धेरै लिएको तर थोरै दिएको बताउँदै महानगरको कार्यक्रमबाट लिने दिने बराबरी हुने धारणा राखे । छलफलमा छार्का गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङ, सेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङसहित वडाध्यक्ष, रोजगार संयोजक तथा स्वास्थ्यकर्मीसहितको टोली थियो ।

छलफलमा उनीहरूले डोल्पा जिल्ला विकासका दृष्टिले पछाडि परेको र महानगरपालिकाबाट यसको उन्नतिका लागि सहयोग प्राप्त हुने अपेक्षा राखेपछि उपप्रमुख डंगोलले, एक पटक दिएको सहयोग दिगो नहुने बताइन् । महानगरपालिका वितरणमुखी सहयोगभन्दा सेवामूलक सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने गरी सहयोग गर्ने नीतिमा रहेको उनको भनाई छ । उनले भनिन्, ‘एग्रो पुलिङ् हामीले कार्यान्वयनमा ल्याएको कार्यक्रम हो । यसबाट डोल्पाका नागरिकलाई आर्थिक लाभ हुन्छ । काठमाडौँका नागरिकले ताजा खाद्यान्न तथा तरकारी प्राप्त गर्नुहुनेछ ।’

कुराकानीका क्रममा विकासको ढाँचा विषयमाथि कुरा गर्दै उनले, आदिवासी, जनजाति र पुर्खाको ज्ञान र सिपलाई नासिन नदिनतर्फ सचेत रहन आग्रह गरिन् । ‘आफ्नोपन जोगाएर मौलिक स्वरूप कायम राख्न पनि नसक्ने, आधुनिकतालाई अङ्गालेर पूर्ण आधुनिक पनि बन्न नसक्ने हुनु हुँदैन । हाम्रो मौलिकपन नै हाम्रा लागि उपयुक्त छ । यसलाई बचाउनुपर्छ,’ उनको सुझाव थियो ।

एग्रो पुलिङ् कार्यक्रममार्फत महानगरपालिकाले सबै स्थानीय तहसँग सहकार्य गर्न सक्ने भएकोले यही कार्यक्रममार्फत डोल्पाका स्थानीय तहसँग काठमाडौंले काम गर्न सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले धारणा राखे ।

कुराकानीका क्रममा छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष गुरुङले, ठुलो भूगोल र पातलो बस्ती हुनु नै पालिकालाई विकास वितरण र व्यवस्थापनमा कठिन भएको धारणा राखे । ‘आफ्नै ठाउँमा उद्यम गरेर बसाइसराइ रोक्न सके पनि ठुलै उपलब्धि हुने थियो । यस्ता कार्यक्रम चलाउन महानगरपालिकाबाट सहयोगको अपेक्षा गरेका छौँ ।’ उनले अपेक्षा सुनाए।

त्यस क्रममा सेफोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष गुरुङले, मानिसहरू गाउँमा नबस्ने भएपछि पालिकाको अस्तित्व बचाउनै कठिन भएको धारणा राखे । ‘सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले आय गर्छ । तर यो आय संघ सरकार र निकुञ्जले नै लिन्छन् । यसबाट सुरक्षा त छ तर विकास छैन । यसबेला हामीलाई महानगरपालिकाले एउटा एम्बुलेन्स प्रदान गर्न सक्यो भने पालिकाबाट जोमसोम विमानस्थलसम्म बिरामी ल्याएर नागरिकको ज्यान बचाउन सकिने थियो,’ उनले अपेक्षा सुनाए ।

छलफलमा वडा नं. १ का अध्यक्ष जिङ्मे छोइङ् नोर्वु लामा, वडा नं. ३ का अध्यक्ष पेमा धुर्मी गुरुङ, वडा नं. ७ का अध्यक्ष पेमा छिरिङ् गुरुङलगायत जनप्रतिनिधिले डोल्पालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका लागि उपयुक्त भएको चित्रण गर्दै आन्तरिक पर्यटनले डोल्पाको विकासलाई योगदान दिन सक्ने र यो काठमाडौंबाट सम्भव हुने धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily