सिरहा– नियामक निकायको फितलो निगरानी तथा अनुगमनका कारण राईस मिलको धुवाँ धुलोले स्थानीयहरू आजित भएका छन्। जिल्लाको गोलवजार नगरपालिका- ४ स्थितको माँ धमिनी एग्रो राईस मिलको प्रदूषणले स्थानीहरूलाई सास्ती खेप्नु परेका हुन्।
धमिनी लघु उद्योग (चामल मिल)बाट निस्केको धुवाँ, धुलो र कालो खरानीका कारण खाना पकाउन समेत समस्या भइरहेको स्थानीयहरू बत्ताउँछन्। उद्योगबाट निस्कने कालो धुवा र कणहरू भान्सा, ओछ्यान, खाना, लत्ताकपडा देखि घरभरी दैनिक रूपमा फैलिने गरेको उनीहरूको भनाई छ।
यसरी मिलबाट निस्किने धुवाँ र धुलो नियन्त्रणको लागि पछिल्लो एक दशक देखि उद्योगका सञ्चालक स्थानीय महेश साह (कोकवा) र सम्बन्धित निकायलाई जानकारी गराए पनि यो समस्याको ठोस निकास निकाल्न नसकेको स्थानीय सुमेश कुमार साहले जनाएको छ।
उनले भने, ‘हामी स्थानीयहरूले पटक–पटक नगरपालिका, स्थानीय प्रहरी प्रशासन लगायत सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि वास्ता गरेनन्। उनले थपे, ‘राइस मिलबाट निस्केको कालो कणहरू र धुवाँ, धुलोका कारण म लगायत घरको बच्चाहरूलाई समेत आँखामा समेत समस्या भएर करिब हजारौँ रुपैयाँ खर्चिसकेको छु। हामी स्थानीयहरूले कुनै निकाय बाँकी राखेका छैनौ। नियमनकारी निकायले चाडै नै हाम्रो समस्या समाधान गरोस्।’
यस्तै अवस्था रहिरहे हामीले बाध्य भएर अव मिलमै ताला लगाउने तयारीमा रहेको स्थानीय अताबुल रहमानले जनाए। उनले भने, ‘हामीले जानेको, चिनेको सबै निकायलाई हाम्रो दुःख सुनायौँ, नियन्त्रण गर्न÷गराइदिन अनुरोध गर्यौँ। कसैबाट कुनै ठोस पहल भएन। यस्तै अवस्था रहिरहे हामी मिलको गटमै ताला लाउने छौँ।’
‘चामल मिलमा बाल्ने भुसका कालो मसिनो धुलो र कालो धुवाले हामीलाई घरमै बसी नसक्ने अवस्था बनायो। छतमा सुकाएको लुगामा कालो धुलो टाँसिने, खानामा पर्ने, ओछ्यानमा कालो धुलो टाँसिएर दिनहुँ फोहर हुने गरेको छ; स्थानीय शोभित कुमार साहले भने, ‘यतिमात्र हैन बारीमा लगाएको साग सब्जीमासमेत कालो धुलो टाँसिएर हेरी नसक्नुको भएको छ। नियन्त्रणको लागि मिलका सञ्चालक महेश साहलाई पटक पटक अनुरोध गर्यौँ, विभिन्न बहाना बनाएर टार्दै आएको छ।’
धुलोका कारण बस्न नसक्ने भएपछि घर, जग्गा जमिन नै बेच्ने सम्म हुन थालेको स्थानीयहरू बताउँछन्। धुलो र धुवाँले बस्न नै नसकिने अवस्था आएपछि मिल नजिकै घर भएका मो. इम्तियाज खान घर बेचेर ठाउँ सरेको उनका छिमेकी मो. जाहिर खानले बताए। उनले भने, ‘छत वडहार्नु पर्छ, बरन्डा, भरभित्र खरानी पसेर बस्न नसक्ने अवस्था हुन्छ। दिनहुँ घर, बरन्डा पानीले पखाल्नु पर्छ। हामीलाई यहाँ बस्न गाह्रो भइसकेको छ।’
मिल सञ्चालक महेश साह (कोकवा) लाई तपाईँको मिलबाट निस्केको कालो कणका कारण स्थानीयहरूलाई स्वास्थ्यमा समेत असर पर्ने गरेको छ। तपाईले प्रदूषण नियन्त्रण गर्न के कति प्रक्रियाहरू अपनाउनु भएको छ? भनी जिज्ञासा राख्दा उनले भने, ‘यो क्षेत्रमा पहिले घर थिएन। त्यसैले त्यत्तिकै पनि चलाई रहेको थियो। मिलवाट निस्केको धुलोले वास्तवमा स्थानीयहरूलाई समस्या झेल्नुपरेको छ। म धुलो व्यवस्थित गर्न आवश्यक प्रक्रिया अगाडी बढाई सकेको छु।’
गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले लामो समयसम्म कालो धुवाँको सम्पर्कमा रहँदा मानिसमात्र हैन पशुमा पनि कुप्रभाव पर्ने बताए। धुलो धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी विभिन्न रोग लाग्नुको साथै, आँखा र छालामा पनि समस्या आउने बताए। स्वास्थ्य प्रमुख कर्णले थपे लामो समयसम्म यसको सम्पर्कमा रह्यो भने क्यान्सर सम्म हुन सक्छ।
सन्तोष, शोभित, सुमेश, जाहिरमात्र हैन यहाँका करिब दुई सयभन्दा बढी घर परिवारले यही समस्या झेलिरहेका छन्। राईस मिल सञ्चालक साहले नियामक निकायलाई आर्थिक प्रभाव र राजनीतिक दबाबमा राखेर निर्बाध रूपमा २४ शै घण्टा मिल चलाउने गरेको स्थानीयहरू बताउँछन्।
प्रतिक्रिया