+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय नारी दिवस

‘नेपालको सिनेमा उद्योगमा महिलाको उचाइ र कठिन यात्रा’

नेपाली सिने क्षेत्रमा उचाइ लिँदै महिला, संघर्ष र साहसको कथा 

पालिका लाइभ
२०८१ फाल्गुन २४, शनिबार १०:१२ बजे

काठमाडौं– पुरुषप्रधान मानिएको नेपाली समाजमा चलचित्र क्षेत्र एउटा चुनौतीपूर्ण उद्योग मानिन्छ । जहाँ महिला निर्माता र कलाकारहरूले आफ्नो स्थान बनाउनु भनेको निकै ठुलो सफलता हो ।

तर पछिल्लो समय सिने उद्योगमा महिलाहरूको उपस्थिति वाक्लिन् थालेको छ । महिलाहरूले यो क्षेत्रमा राम्रो स्थान बनाउन सफल हुँदै गएका छन् । जसका कारण सिने उद्योगमा परिवर्तन र प्रगति देख्न थालिएको छ ।

नेपाली चलचित्र उद्योगमा महिला निर्माता बन्नु भनेको एक साहसिक कदम हो । यसमध्ये कल्पना आचार्य यसको एक प्रमुख उदाहरण हुन् । ‘महिलालाई चलचित्र क्षेत्रमा काम गर्न अझै समस्या छ । विशेष गरी आफ्नो फिल्म निर्माण गर्दा निकै तनाव व्यहोर्नुपर्छ । परिवारको सल्लाह र समर्थन बिना एक महिला निर्माता आफूलाई सफल बनाउन सक्दैन,’ उनी भन्छिन्, ‘पहिलेदेखि धेरै संघर्ष भोगेको छु । मेरो पहिलो फिल्म निर्माण गर्दा सामना गरेको अप्ठ्यारो र समाजबाट प्राप्त तिरस्कारका अनुभवलाई कहिल्यै भुल्न सक्दिन । २० वर्ष अगाडि फिल्म बनाउने निर्णय लिएको थिएँ, र त्यो समय निकै कठिन थियो ।’

साथै उनले अझै पनि नेपाली समाजमा चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण एकसय प्रतिशत सकारात्मक हुन नसकेको बताइन् । उनले पहिलो फिल्म ‘एकता’ निर्माण गर्दाखेरि धेरै चुनौतीको सामना गर्दा दुई रात आफू पुलिसको थुनामा समेत बसेको तितो अनुभव सुनाइन् ।

उनले भनिन्, ‘निर्माता भएर चलचित्र क्षेत्रमा काम गर्न धेरै नै गाह्रो छ । पहिलाको तुलनामा अहिले अलि सहज हुन थालेको छ । पुरुषको तुलनामा अझै पनि धेरै कठिनाइहरू महिलालाई छ । पहिलो फिल्म एकता निर्माण गर्दाखेरि नै धेरै चुनौतीको सामना गर्नुपर्‍यो । जहाँ दुई रात म पुलिसको थुनामा समेत बसेको तितो अनुभव छ । त्यसमा पनि समाजले अनेकथरि कुराहरू गर्दा परिवारको समेत साथ पाइन् । त्यो सबै केलाउँदा एउटा इतिहास बन्छ । तर अब चाहिँ फिल्म बनाउन त्यति समस्या छैन ।’

यसैगरी रश्मि भट्ट ३४ वर्षदेखि नेपाली फिल्म उद्योगमा सक्रिय छिन् । उनले पनि धेरै संघर्ष र अप्ठ्यारोहरूको सामना गरेको बताइन् । उनी भन्छिन्, ‘समस्या धेरै झेलियो । अब सहजीकरण गर्दै जानुपर्छ । अप्ठ्यारो परिस्थिति हरेक क्षेत्रमा हुन्छ, तर कलाकारिता क्षेत्रमा त यी समस्याहरू अझ बढी छन् । काम गर्न गार्हाे छ तर आफैलाई सहज बनाउन प्रयास गर्दैछौं ।’

भट्टले आफ्नो संघर्षको बारेमा भनिन्, ‘महिला कलाकारको पारिश्रमिक पुरुषको तुलनामा अझै कम हो । कामका सिलसिलामा धेरै अनैतिक गतिविधिहरूको सामना गर्नुपर्ने हुन्छ । काम गर्दा शरीरमा आफ्नै पुरुष सहकर्मीले हात लगाउँदा मैले एउटा सिरियल नै छोडेको छु ।’

यद्यपि, उनले महिलाले आवाज उठाउँदै गएमा यस्ता समस्याहरू कम हुने बताइन् । उनले चलचित्र क्षेत्रमा संस्कार पुरानो राम्रो तर प्रविधि अहिलेको राम्रो भएको बताइन्।

उनले भनिन्, ‘चलचित्र क्षेत्रमा संस्कार पुरानो राम्रो तर प्रविधि अहिलेको राम्रो । अहिले हत्केलामा संसार छ । इन्टरनेटको विस्तार भएसँगै दुरुपयोगतिर लागिरहेका छौँ, जसका कारण छाडापन आउन थाल्यो । महिला कलाकारको पारिश्रमिक विगतको दाँजोमा अलि बढी भए पनि पुरुषको तुलनामा कम दिने प्रचलन छ ।’

यसैगरी संगिता श्रेष्ठ पनि नेपाली फिल्म उद्योगमा महिलाहरूको संघर्षको बारेमा भन्छिन्,‘महिलाहरू कमजोर छन् भन्ने मानसिकता समाजमा अझै व्याप्त छ । कतिपय अवस्थामा पारिवारिक कारणले महिलाहरू फिल्म क्षेत्रबाट टाढा जानुपर्ने स्थिति आउँछ । पुरुष र महिलाले समान संघर्ष गर्छन् तर महिलाहरू अझै पारिश्रमिकको हिसाबले कम पाउँछन् ।’ तर सबैले यस विषयमा आवाज उठाउँदा मानसिकता परिवर्तन हुने र महिलाको संघर्ष एव मेहनतले न्याय पाउने विश्वास व्यक्त गरिन् ।

यसैगरी अभिनेत्री लिन्थे ल्हामोले पनि महिलाहरूको क्षमता र शक्तिबारे दृढ विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘महिला कमजोर छैनन् । हरेक काम पुरुषजस्तै गर्न सक्छन् । जटिल कामलाई सबैले रमाइलो तरिकाले लिनुपर्छ ।’

साथै उनले पुरुषको मात्र नभई महिलाहरूको मानसिकता समेत परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘महिलाहरूको मेन्टालिटी परिवर्तन गर्न आवश्यक छ । महिलाहरू बलियो, साहसी छौँ । महिला कमजोर छन् भन्ने सो पहिला परिवर्तन गर्न आवश्यक छ । पुरुषको भन्दा पनि महिलाहरूको मेन्टालिटी परिवर्तन गर्न आवश्यक छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ