+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालयसँग अतिरिक्त रकम असुली

एसइई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली !

पालिका लाइभ
२०८१ फाल्गुन २२, बिहीबार १७:४३ बजे

सिरहा– आगामी चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा केन्द्र मिलाउन समन्वय इकाई सिरहाका कर्मचारीले निजी विद्यालयसँग अतिरिक्त रकम असुली गरेको खुलेको छ। शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकै निर्देशनमा परीक्षा शाखा प्रमुख विशाल साह कानुले निजी विद्यालयहरुसंग पायक पर्ने ठाउँमा सेन्टर मिलाइदिने भन्दै व्यापक रकम असुलेको तथ्य बाहिरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा प्रमुख साह कानुले संस्थागत विद्यालयहरुसंग १५ जना भन्दा कम विद्यार्थी भए प्रति विद्यार्थी एक हजारको दरले र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुसंग प्रत्येक विद्यार्थी पाँच सयको दरले रकम असुलेको निजी विद्यालयका संस्थापकहरू बत्ताउँछन्।

एसइई परीक्षा केन्द्र मिलाउन कति खर्च लाग्यो सर ? पायक पर्ने ठाउँमा सेन्टर पर्‍यो कि परेन ? प्रश्नमा सिरहाका एक संस्थागत विद्यालयका संस्थापकले भने, ‘जम्मा ८५ जना विद्यार्थीको लागि शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा प्रमुख विशाल साह कानुलाई आफूले ४५ हजार रकम दिएको नाम नखोल्ने सर्तमा बताए । उनले भने, ‘मैले भनेकै ठाउँमा परीक्षा केन्द्र मिलाई दिन्छु भनेपछि विद्यार्थी सङ्ख्याकै आधारमा विशाल सरलाई पैसा दिएको थिए । तर, वहाँले परीक्षा केन्द्र निर्धारणमा बैईमानी गर्नु भयो । म त छोड्दिन । दिएको रकम फिर्ता नगरे आफू पत्रकार सम्मेलन गरी सबै भित्रिकुरो सार्वजनिक गर्ने बताए।’

अर्का निजी विद्यालयका संस्थापक भन्छन्– ‘शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारीहरू जो आए पनि ब्रहमलुट नै मच्चाउन खोज्छन्। उनी भन्छन्, ‘सिरहामा जो जोगी आए पनि कानै चिरेको कथा झैँ बनेको छ;सिराहाको शिक्षा समन्वय इकाई। विना घुस काम नगरेपछि विद्यालयहरूले पनि बाध्य भएर विद्यार्थीहरुसंग बढी रकम लिने गरेको जनाए ।

आज सार्वजनिक गरेको परीक्षा केन्द्रहरू मध्ये गोलवजार नगरपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ। यो नगरपालिकामा ७ सामुदायिक र १४ वटा संस्थागत विद्यालयको करिब ९ सय पचास परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन्। यो विद्यार्थीलाई यस पालिकाको परीक्षा केन्द्रमै राख्ने ठाउँ पर्याप्त छ। तर, संस्थागत विद्यालय र इकाई कर्मचारीलाई आर्थिक प्रभावमा पारी पालिका बाहिरका परीक्षा केन्द्रमा लगिएको छ। यसले पनि परीक्षा केन्द्र निर्धारण प्रक्रियामा आर्थिक चलखेल भएको पुष्टि गर्ने पर्याप्त आधारहरू बनेको छ।

गोलबजारमात्र हैन लहान, मिर्चैया, धनगढी, सिरहा सदरमुकामका नाम चलेका निजी विद्यालयहरूले आफूले चाहेको ठाउँमा परीक्षा केन्द्र पाउनुले पनि झेल भएको प्रस्ट हुन्छ । यसै विषयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक कलौनी परीक्षा शाखा प्रमुख विशाल साहलाई सम्पर्क गर्दा दुवै जनाको मोबाइल नम्बर स्विच अफ गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा सिरहाबाट १० हजार सात सय तीन जना विद्यार्थी सहभागी हुने भएका छन् । सामुदायिक ९५ र ९३ वटा संस्थागतसहित १८८ विद्यालयहरू परीक्षामा सामेल हुने समन्वय इकाई सिरहाले जनाएको छ।

परीक्षालाई व्यवस्थित, मर्यादित र परीक्षार्थीलाई सहुलियत हुने गरी ४९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ। गत वर्ष ४३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष प्राविधिक धारका लागि छुटै एउटा परीक्षा केन्द्रसहित ६ वटा केन्द्रहरू थपिएको इकाईले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ