+
Search

ताजा अपडेट +

पपुलर +

निर्माण व्यवसायीको गुनासो : अर्थमन्त्रीले ७ दिनमा भुक्तानी दिन्छाै भनेका थिए, जाँदा फेरि लिस्ट मागे

4KNationalDaily
२०८१ पुष १८, बिहीबार १५:२० बजे

काठमाडौं– नेपाल निर्माण ब्यवसायी महासंघले अझै सरकारको तर्फबाट भुक्तानी नपाएको जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले भुक्तानी प्रक्रियामा समस्या रहेको बताएका हुन्।

उनले अहिलेसम्म २० अर्ब भुक्तानी पाइसकेका तर कयौं आयोजनाको रकम अझै प्राप्त नभएको बताए।

‘हामीले प्राप्त गरेको भुक्तानीमा समस्या छ। यो वर्ष विनियोजित बजेटबाट गत वर्षको भुक्तानी गर्न मिल्ने भयो। राष्ट्रिय गौरवका आयोजनाहरुको मात्रै भुक्तानी पाएका छौं। हामीले अन्य साना आयोजनाको काम गरेको भुक्तानी पाएका छैनौं,’ उनले भने।

उनले गत वर्षको सडक विभागले निर्माण व्यवसायीलाई ३ अर्ब ८७ करोड रुपैयाँ दिन बाँकि रहेकोमा हालसम्म २ अर्ब १० करोड रुपैयाँ मात्रै पाएको बताए।

‘अझै १ अर्ब ७७ करोड रुपैयाँ पाउन बाँकी छ,’ उनले भने, ‘यो वर्ष गरेको थप कामबाट अर्को ७ अर्ब रुपैयाँ भुक्तानी बाँकी नै छ।’

उनले सरकारले अतिरिक्त बजेट व्यवस्थापन गर्न सकेको भन्दै यो वर्ष खर्च कम हुने सम्भावना रहेको बताए। ३२० आयोजना चालू रहेकोमा ८० आयोजनाले मात्रै निरन्तरता दिएको उनको मत छ।

‘सिमेन्टको ४०० रुपैयाँ मूल्य तोकेर ठेक्का लगाइयो। अहिले काम गर्ने बेला ७०० रुपैयाँ मुल्य बनाइयो,’ उनको गुनासो थियो।

उनले पैसा नहुँदा निर्माण व्यवसायीले काम गर्न नसकेको बताए।

‘सात दिनमा भुक्तानी दिने भनेर अर्थमन्त्रीले भन्नू भयो। तर, सात दिनमा जाँदा फेरि लिस्ट मागेर पठाउनु भयो। समय बर्बाद गर्ने काम मात्रै भयो,’ उनले भने ।

महासंघका अनुसार निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकास हुनेभनी प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक मञ्चहरूबाटै पटक पटक प्रतिबद्धता जनाएपनि तद्धनरुप भुक्तानी नहुँदा निर्माण उद्योगमा मात्र नभई मुलुकको समग्र आर्थिक चक्रमा ठूलो समस्या उत्पन्न भइसकेको छ ।

यसबीचमा पनि महासंघले समस्या समाधानका लागि प्रधानमन्त्रीसहित विकास मन्त्रालयका मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू, महानिर्देशकहरूलाई प्रत्यक्ष भेटी ज्ञापन पत्र बुझाउँदा समेत ठोस सुनुवाई नभएको गुनासो रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily