काठमाडाैं– जनकपुरधामस्थित सिद्धार्थ बैंकका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा लिलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको हो ।
जनकपुरधामका एक व्यापारीले उक्त बैंकबाट लिएको ऋण चुक्ता गर्न जाँदा बैंकले ऋणीको जग्गा लिलाम गरेको थाहा पाएपछि बिहीबार बिहानैदेखि बैंक क्षेत्रमा स्थानीय व्यापारीहरूले विरोध गरेका थिए । विरोध प्रदर्शनमा प्रहरीले बैंकको प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको जनाएको छ । यता सिद्धार्थ बैंकको केन्द्रीयका व्यवस्थापन सुरेजराज महर्जनले भने उक्त घटनामा बैंकका कर्मचारी सुरक्षित रहेको र सुरक्षाका लागि प्रहरीले बैंकका कर्मचारीलाई उद्धार गरेर सुरक्षित स्थानमा लगेको बताए ।
भिडिओ
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर क्षेत्रीले जग्गा लिलामीको विषयमा मिल्सएरियामा रहेको बैंकको शाखामा जग्गा लिलामीको विषयमा व्यापारी तथा स्थानीय प्रदर्शन गरिरहेको खबर पाएर उनीहरूलाई सुरक्षित राख्नका लागि नियन्त्रणमा लिएको बताए ।
जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स सञ्चालन गर्दै आइरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको बिजनेस लोन र भाउजूको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए ।
उक्त लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको तर बीचमा केही महिना परिवारका एक जना सदस्यलाई प्यारालाइसिस भएर चेकजाँच गराउन बाहिर गएको समय बैंकले आफ्नो जग्गा बेचेको ऋणी रायले आरोप छ।
उनले करोडौँको मूल्यको आफ्नो जग्गा बैंकले बिना जानकारी बेचेको थाहा पाएपछि जनकपुरधाम उद्योग वाणिज्य संघमा निवेदन दिएर सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष, स्थानीय व्यापारीहरू बैंकमा गएर बुझ्दा बैंकले २४ घण्टा भित्र एकमुस्ट रकम जम्मा गरे जग्गा फिर्ता दिने प्रतिबद्धता गरेको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । पछि बैंकले आनाकानी गर्न थालेको र मालपोतमा गएर बुझ्दा त्यो जग्गा अर्काको नाममा पास भइसकेको जानकारी पाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीले वडाध्यक्षसंग समन्वय गर्न खोज्दा वडाध्यक्षले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । अध्यक्ष भण्डारीले मालपोत, सिद्धार्थ बैंकको मिलेमतोमा यस किसिमको कार्य भएको आरोप लगाए ।
अध्यक्ष भण्डारीले यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पुग्दा एसपीले सन्तोषजनक प्रतिक्रिया नदिएकोले प्रहरीकोसमेत मिलेमतो हुनसक्ने बताए ।
*बैंकको दाबी: शाखा प्रबन्धक पक्राउको समाचार तथ्यहीन
सिद्धार्थ बैंकले जनकपुरका प्रबन्धक पक्राउ भनेर प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै वास्तविकता भन्दा बाहिर गएर समाचार सम्प्रेषित भएको जनाउँदै बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हाे ।
विज्ञप्तिमा बैंकको क्षीरेश्वर शाखा तथा जनकपुर शाखाबाट ऋण लिएका ऋणीहरुले बैंकलाई तिर्नुपर्ने सावाँ र ब्याज निर्धातिर भाका नाघेको लामो समय भएपछि पटक-पटक मौखिक एवम् लिखितरुपमा पत्राचार गरेको, ३५ दिने सार्वजनिक सूचनामार्फत जानकारी गराएको र उक्त समयमा पनि कर्जा राफसाफ नगरेकाले कानूनबमोजिम धितो लिलामी गरिएको बैंकले उल्लेख गरेको छ ।
बैंकिङ अभ्यासको पद्धति अनुसार लिलामी गरिएपछि ऋणीहरुले यस निर्णयमा असहमति जनाउँदै पुस ११, १२ र १४ गते बैंकको विद्यापति चोक, रामानन्द चोक एवम् जनकपुर शाखामा धर्ना दिएर अवरोध खडा गरेको बैंकको भनाइ छ ।
त्यसपछि दुवै पक्षको छलफलका लागि सुरक्षित स्थान प्रहरी चौकी हुने भनेर प्रहरी चौकीमा भइरहेको छलफलका भिडिओ खिचेर सामाजिक सञ्जालमा जनकपुर शाखाका प्रबन्धक पक्राउ भनेर प्रचार गरिएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सोही छलफलमा पनि सम्पूर्ण जानकारी गराएर कानूनी प्रक्रियाअनुसार कर्जाका लागि राखिएको धितो लिलामी गरिएको बैंकले जनाएको छ ।
कानूनमुताविक भएको लिलामी चित्त नबुझेको खण्डमा कानूनी प्रक्रिाय अघि बढाउन सकिने व्यवस्था सदैव रहेको पनि बैंकले स्मरण गराएको छ ।
*बैंकले प्रकाशित समाचारका बिषयमा खण्डन गरेकाले प्रकाशन गरिएकाे छ- सम्पादक
प्रतिक्रिया