+
Search

ताजा अपडेट +

पपुलर +

बैंक डुबिसकेको थप पुष्टि गर्ने सहकारी मन्त्रीको अभिव्यक्ति !

4KNationalDaily
२०८१ भाद्र २२, शनिबार १५:२३ बजे

बुढोपाकाले भन्थे, ‘जंगलमा बाघ कराएसँगै घरको गोठमा बाँधेको खसीबोका हराउँछ ।’ पछिल्लो समय बजारमा बैंक तथा वित्तीय संस्था डुबेको व्यापक चर्चा चलिरहँदा सहकारी मन्त्री बलराम अधिकारीको अभिव्यक्तिले थप पुष्टि गरिदिएको छ ।

सहकारी मन्त्री अधिकारीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सर्वसाधारणले बैंकबाट ऋण लिएर सहकारीमा बढी ब्याजको प्रलोभनमा परी बचत गरेको बताए । अहिलेका सहकारी पीडितहरू साँच्चिकै सहकारी पीडित नभई बैंकको ऋणी भएको उनको दाबी छ ।

बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर स्पष्ट छ । कोरोना महामारीपश्चात् देशमा आएको मन्दीको प्रभाव यो क्षेत्रमा पनि पर्‍यो । झन्डै तीन वर्ष भइसकेको छ, घरजग्गा, गाडी र सेयरमा मन्दी छाएको ।

त्यसैले, यी क्षेत्रमा लगानी गर्ने बैंक, वित्तीय संस्थादेखि व्यक्तिसम्म डुबेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए । असार ३१ गते उनले मन्त्रिपरिषद् गठन गरे । उनको क्याबिनेटमा विष्णु पौडेल अर्थमन्त्री छन् ।

विष्णु पौडेल अर्थमन्त्री हुनुअघि सेयर २१ सय रुपैयाँ थियो । दिनमा कारोबार डेढ/दुई अर्बको कारोबार हुन्थ्यो । तर, असार १७ गते राति कांग्रेस र एमालेबिच सत्ता साझेदारीको सहमति अनि अर्थमन्त्रीमा पौडेलको चर्चासँगै सेयरको मूल्य बढ्न थाल्यो ।

झन् पौडेल अर्थमन्त्री भएको एक महिनाको अवधिमा त सेयरमा एकपछि अर्को रेकर्ड बन्यो । २१ सयमा झरिसकेको सेयर एक महिनाको बिचमा एकाएक बढेर ३ हजारकाे विन्दुमा पुग्यो । दुई अर्ब कारोबारबाट ३० अर्ब कारोबार भयो । जुन इतिहासकै सर्वाधिक पनि हो ।

अहिले फेरि सेयर घटेको छ । ३ हजारकाे बिन्दुमा पुगिसकेको सेयर अहिले २६ सयमा झरिसकेको छ । कारोबार रकम पनि घटेको छ । यसरी एक महिनाकै बिचमा सेयर दलालीहरूले खर्ब सम्पत्ति जोडे भने सेयरको मूल्य बढेको देखेर लगानी गर्ने सोझासाझा सर्वसाधारण फेरि डुब्ने देखिएको छ ।

सेयरको मूल्य सम्बन्धित कम्पनीको वित्तीय अवस्था र नाफामा आधारित हुन्छ । कम्पनी नाफा गए त सेयरको मूल्य बढ्ने हो । तर, हाम्रोमा हरेक क्षेत्रमा दलालीको बिगबिगी छ । त्यस्तै सेयरमा पनि भएको हो । सेयरमा ५०–५५ जना ठुला दलालीको हात रहेको बताइन्छ ।

अनि यिनीहरूले मूल्य बढाउँदा बढ्छ त घटाउँदा घट्छ । यी दलालीले आफ्नो सेयर बिक्री गर्ने समयमा ह्वात्तै मूल्य बढाउँछन् तर जब सर्वसाधारणको पालो आउँछ सेयर बेच्ने तब मूल्य घटाइदिन्छ । यसरी सीधासाधी सर्वसाधारण नराम्ररी फस्ने गरेका छन् ।

बैंक, वित्तीय संस्थाबाट महँगो ब्याजमा ऋण लिएर नाफा हुने प्रलोभनमा सेयरमा लगानी गर्दा हिजो पनि थुप्रै जनता डुबे र आज पनि डुब्ने देखिएको छ । सेयरमा ६५ लाख बढी सर्वसाधारणको लगानी छ । तर, नाफा कमाउने सीमित दलाली छन् ।

सर्वसाधारणलाई त ती दलालीहरूले प्रयोग मात्र गरिरहेका छन् । अनि यो खेल बुझ्न नसक्ने मानिसले सेयरमा लगानी गरेर आफ्नो घर खेत र परिवार नै सिद्ध्याउँछ । सेयर जुवाको अर्को रूप हो । त्यसैले, अब प्रतिबन्ध गर्न आवश्यक छ । विडम्बना, हाम्रो त सरकार नै जनता डुबाउन लागिपरेको छ ।

प्रधानमन्त्री, अर्थमन्त्री सेयरको कारोबार बढेमा खुसी व्यक्त छन् । किनकि सेयरमा लगानी गर्ने पनि एमालेकै कार्यकर्ता रहेको बताइन्छ । सेयरमा लगानी नगर्नु, डुबिएला भनेर सम्झाउनु त कहाँ कहाँ प्रधानमन्त्री ओली सेयरको मूल्य बढेमा उल्टै केक काट्ने घोषणा गर्छन् । अनि यहीबाट स्पष्ट हुन्छ कि सरकार आफैँ जनता डुबाउन लागिपरेको छ ।

सेयरमा मात्र घरजग्गा र गाडीमा पनि यसरी नै दलालीहरूले सर्वसाधारणलाई फसाएका छन् । हिजो निमुखा किसानबाट रोपनीको पाँच/दश हजारमा जग्गा किनियो । र, डोजर चलाइयो । अनि त्यही जग्गाको एकाएक मूल्य बढाएर आनाकै ६/०७० लाखमा सोझासाझा जनतालाई बेचियो ।

नाफा हुन्छ भनेर मानिसले आफूले जीवनभर कमाएको पैसासहित बैंक, वित्तीय संस्थाबाट समेत ऋण लिएर त्यो घरजग्गामा लगानी गरे । तर, अहिले बैंकको साँवा ब्याज तिर्न नसक्दा उनीहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकको ऋण तिर्न पैसा छैन त घरजग्गा बिक्री हुँदैन ।

गाडीमा पनि यस्तै गरियो । भारतबाट एक लाखमा सवारी किनेर ल्याएर यहाँ पाँच लाखदेखि करोडौँमा बेचिएको छ । अहिले बजारमा दुई वटा कुराको खुब चर्चा छ । एउटा दसैँपछि धेरै कोठा, सटर खाली हुन्छन् । अर्को खोला, नदी, एयरपोर्ट वा इन्धनको डिपो वरपरको घरजग्गा किन्नुहुन्न ।

अहिले सहकारी पीडितहरूको आन्दोलन जारी छ । मिटर ब्याज र लघुवित्त पीडित पनि आन्दोलनको तयारीमा छन् । पीडितहरू आन्दोलनमा उत्रिसकेका छन् । तर, रोचक कुरा त के छ भने नि अधिकांशले बैंकबाटै सस्तो ब्याजमा ऋण लिएर सहकारीमा बढी ब्याजको प्रलोभनमा सो रकम राखेका छन् ।

उदाहरणका लागि बैंकबाट तीनदेखि दश प्रतिशत ब्याजमा ऋण लिइयो । अनि सहकारीमा २० देखि ३० प्रतिशत ब्याजको लागि सो रकम राखियो । तर, सहकारी एकाएक डुब्यो वा भाग्यो । सहकारी डुबेपश्चात् त्यसरी बैंकबाट ऋण लिएर सहकारीमा रकम जम्मा गरेकाहरूको होस आवाज नै गुमेको छ ।

सहकारी भागे पनि बैंकको ऋण त तिर्नै पर्‍यो नि । तर, कसरी तिर्ने ? पैसा त छैन । यता, लघुवित्तहरूले पनि बैंकबाट सस्तो ब्याजमा ऋण लिएर ७५ प्रतिशतसम्म ब्याजमा कर्जा प्रवाह गरेका थिए । चर्को ब्याजका कारण घर खेत नै सकिएपछि लघुवित्त पीडितहरू संघर्ष उत्रिए । उनीहरू ऋण नतिर्ने अडानमा छन् ।

अनि उनीहरूले ऋण तिरेनन् भने लघुवित्तले कसरी बैंकको ऋण तिर्छ ? त्यसैले, अहिले चारैतिरबाट बैंक डुब्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंक डुब्दैन भनेर जतिसुकै दाबी गरे पनि बजारको अवस्थाले बैंक डुब्ने संकेत देखाइसकेको छ । अर्कोतर्फ, सरकारकै मन्त्रीको अभिव्यक्तिले यसलाई पुष्टि गरिदिएको छ ।

अब बैंक डुब्न केही समय मात्र बाँकी छ । अहिले गाउँ-गाउँबाट लघुवित्त लखेट्न थालिएको छ । गाउँदेखि सहरसम्मका घरधनीहरू लघुवित्त, सहकारी सञ्चालनका लागि घर भाडामा दिँदैनन् । किनकि यिनीहरू चोर, ठग हुन् भनेर जनताले थाहा पाइसकेका छन् ।

पीडितहरूले आक्रोशमा आएर लघुवित्त, सहकारीमा आगलागी वा तोडफोड गर्दा आफ्नै सम्पत्तिको क्षति हुने डर घरधनीहरूमा बढ्दै गएको छ । त्यसैले, कतिपय घरधनीहरूले त भाडा नै मिनाहा गरेर लघुवित्त, सहकारीहरूलाई सर्न दिएका छन् ।

कोही भने सर्न नमानेपछि घरधनीहरूले स्थानीय तह गुहारेका छन् । सहकारी, लघुवित्त, फाइनान्स र बैंकले एक/दुई जनालाई मात्र होइन, हजारौँ जनतालाई सडक छाप बनाएको छ ।

कोही आफ्नो बचत पीडित नपाउँदा पीडित बनेका छन् भने कोही चर्को ब्याजदरका कारण । बैंक, वित्तीय संस्थाकै कारण सर्वसाधारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । जनता भन्छन्, ‘यिनीहरू ठग हुन्, बन्द गरौँ ।’

त्यसैले, अब कि त सरकारले बैंक, वित्तीय संस्था बन्द गर्नुपर्छ । होइन भने जनता आफैँले यी संस्था बन्द गरिदिन्छन् । सहकारीजस्तै बैंक पनि ढिलो चाँडो भाग्ने नै छ । अब जनता सतर्क हुन आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily