+
Search

ताजा अपडेट +

पपुलर +

महेश बर्तौला भन्छन्- कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन

4KNationalDaily
२०८१ बैशाख ३०, आईतवार १६:५१ बजे

काठमाडाैं- संसद्को अवरोध खुलाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष अडानबाट टसमस नभएपछि विना निष्कर्ष सकिएको छ ।

आइतबार सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग दोहोर्‍याएको थियो भने सत्तापक्षले कांग्रेसको माग कुनै हालतमा पुरा नहुने जवाफ दिएको थियो ।

‘प्रमुख प्रतिपक्ष कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘यो माग पुरा गर्न असम्भव छ ।’

उनले कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुराहुनेवाला नभएको भन्दै कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्यायसमेत नपाउने दाबी गरे ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिले मंगलबार संसद्का दुवै सदनको बैठक बोलाएको भन्दै त्यो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएकाे छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका छन् । छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता रमेश लेखकले भने, ‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारस्थित निवासमा बोलाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily