काठमाडौं– नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष केपी शर्मा ओलीले एमालेकै पहलकदमीमा यो गठबन्धन बनेकोले यसको विकल्पमा अन्य केही सोच्न नहुने बताएका थिए।
‘हाम्रो पहलकदमीमा यो समीकरण बनेको छ। यसलाई हामीले नै सफल बनाउनुपर्छ,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै ती नेताले भने, ‘आकस्मिक, गतिशिल तरिकाले गठबन्धन बन्यो यो अहिलेका लागि राम्रो नै भयो।’
बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन ।
‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छफ त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले नेकपा एमालेको तर्फबाट सकारात्मक योगदान पुर्याउने हिसाबले नेकपा एमाले योगदान गर्नुपर्दछ भन्ने हामीले निष्कर्ष निकालेका छौँ’, उनले भने ।
पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको बताउँदै उनले त्यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको पोखरेलले जानकारी दिए । ‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उनले भने ।
देशमा उत्पन्न निराशालाई चिर्ने र देश भित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास नयाँ सरकारले गर्ने उनकाे भनाइ छ । ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायका प्रश्नमा यो सहकार्य फलदायी हुने विश्वास बैठकले व्यक्त गरेको छ’, पोखरेलले भने ।
प्रतिक्रिया