काठमाडौं- पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ करोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताए ।
बुधवार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्यान् तथा कानुन विभागले पत्रकार सम्मेलन गरी भण्डाफोर गरेको छ ।
करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत,मालपोत, वडा कार्यालय र वकिलहरूसँग मिलेमतो गरेर सो सहकारी लिलाम गरेको पीडित पुनले आरोप लगाएका छन् ।
पीडित वैदेशिक रोजगारको क्रममा जापान रहेको समय २०६१ सालमा सहोदर भाइ पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर–जग्गा आफू स्वयम सुरेन्द्र भएको किर्ते हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।
ऋण लिँदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्दक राखेर भाइ पञ्च पुनले ५ लाख,निरञ्जन प्रसाद शर्माले ५ लाख र दीपेन्द्र उप्रेतीले ५ लाख बाँडेको जिल्ला अदालत काठमाडौंलेसमेत पुष्टि गरिसकेको छ ।
२०६३ सालमा निज सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधिखोजी गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनी घरमा पत्र पठाएको पीडितले बताए ।
सहकारी समक्ष आफूले ऋण नलिएको बरु भाइले किर्ते गरेको भन्दा नमानेपछि न्यायको लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा लडेको बताए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसला गरे पनि सहकारी पुनः त्यसवीरुद्ध उच्च अदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याएको आरोप पीडितको छ ।
त्यसपछि पीडित न्यायको निम्ति सर्वोच्च अदालतमा गए,सर्वोच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनी पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।
यसरी १८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको पीडित दुःख व्यक्त गरे । कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्वजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।
पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्याय तथा कानुन विभागका प्रमुख कृष्ण धमला‘गम्भीर’ले सुरेन्द्रले पाएको अन्याय र अत्याचारले आफ्नो पार्टीलाई गम्भीर बनाएपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको बताए ।
सो पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका धमलाले कानुनी राज्य भनिएको देशमा न्यायालयसमेतको मिलेमतोले आफूलाई दुःखी तुल्याएको बताउँदै भने, ‘अदालत,मालपोत,वकिल,सहकारी मिलेर पीडितलाई आत्मदाहसम्म गर्न बाध्य बनाउनेहरूलाई हाम्रो पार्टीले छाड्दैन ।’
सो पार्टीका नेता जुन तारा मगरले विदेशबाट खुन–पसिना बगाएर कमाएको परिश्रमबाट आर्जेको सम्पत्ति गलत बाटोबाट हडपेकोले पीडितलाई न्याय दिने प्रतिबद्धता जाहेर गरे ।
हाकाहाकी सोझासाझा सुरेन्द्रजस्ता हजारौँ जनताको जग्गा जमिनलाई लिलाम गर्ने विरुद्ध पार्टी खरो उत्रने बताउँदै भने, ‘कानुन तथा न्यायको गला रेट्दै कथित युनाइटेड सहकारी, मालपोत,वकिल र वडा कार्यालयका मान्छेहरूलाई सडकमा पछार्ने दिन टाढा छैन ।’
प्रतिक्रिया