गोरखा- अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा दन्त शिविर भएको छ।
अजिरकोट गाउँपालिकाको आयोजनामा, मुटु फाउन्डेसन काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको प्रायोजनमा अजिरकोट गाउँपालिका-३ भच्चेक आधारभूत अस्पतालमा दुईदिने निःशुल्क दन्त शिविर भएको हो।
आइतबारदेखि सुरु भएको दन्त शिविरमा २८६ जनाले सेवा लिएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। जसमध्ये १७२ जनाले दाँत निकालेका छन् भने ७३ जनाले दाँत सफा र ३० जनाले सिमेन्ट भरेका छन् ।
ओम समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको उक्त दन्त शिविरमा गाउँपालिकाभित्रको खरिबोट, हंसपुर, मुच्चोक, घ्याच्चोक र सिमजुङका बिरामीले सेवा लिएका थिए।
यसअघि मुटु फाउन्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा १५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको फाउन्डेसनले जनाएको छ ।
प्रतिक्रिया