+
Search

ताजा अपडेट +

पपुलर +

ट्विटरमा नयाँ फिचर, तपाईंको ट्विट कति जनाले देखे भन्ने हेर्न मिल्ने

4KNationalDaily
२०७९ पुष ९, शनिबार १६:४७ बजे

ट्विटरमा नयाँ फिचर थपिएको छ। अब प्रयोगकर्ताहरूले आफ्नो ट्विट कति जनाले देखे भन्ने हेर्न मिल्ने फिचर थपिएको हो।

युट्युबमा कुनै पनि भिडिओ कतिपटक हेरियो भन्ने देखाउने ‘भ्युज’ जस्तै ट्विटरमा पनि नयाँ फिचर थपिएको हो।

ट्विटर एफक्युएका अनुसार अबबाट कुनै पनि ट्विट कति जनाले देखे भन्ने संख्या ट्विट गर्ने प्रयोगकर्ता आफै र अन्य प्रयोगकर्ताले समेत हेर्न मिल्नेछ। यो फिचर पुराना ट्विटमा भने उपलब्ध हुने छैन। उक्त फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि ट्विट कति जना अन्या प्रयोगकर्तामाझ पुग्यो भन्ने हेर्दै मूल्यांकन गर्न सक्नेछन्।

सूचना प्रविधि वेबसाइट द भर्जका अनुसार कुनै पनि ट्विट अन्य प्रयोगकर्ताको होम पेज, सर्च पेज, प्रोफाइल वा ट्विट गर्ने आफैले पनि हेर्छ भने त्यो भ्युज काउन्ट (गनिने) हुनेछ। यो फिचर ट्विटको ‘रिप्लाई’ भन्ने विकल्पको बायाँपट्टी देख्न सकिन्छ।

ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले अघिल्लो दिन, बिहीबार मात्रै उक्त फिचर छिट्टै सार्वजनिक गर्ने बताएका थिए। यसभन्दा अघि डिसेम्बर १ मा पनि नयाँ फिचर सार्वजनिक गर्ने संकेत गरेका थिए। शुक्रबारबाट भने प्रयोगकर्ताहरूले ट्विटरमा यो थप फिचर पाएका हुन्।

यसबाहेक मस्क सिइओ भएसँगै उनले विभिन्न फिचर थप गर्नेबारे बताइरहेका छन्। जसमध्ये हालको प्राथमिकतामा ट्विट गर्दा धेरै अक्षर (वर्ण) अटाउन मिल्ने बनाउने पनि पर्छ। हाल ट्विटरमा २८० वटा वर्णको मात्रै ट्विट गर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily