गोरखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्षअघि भएको ६० लाख ९७ हजार रुपैयाँ बराबरको भ्रष्टाचारविरुद्ध मुद्दा चलाएको छ ।
अजिकोट गाउँपालिका वडा नं ३ हंसपुर र वडा नं ५ मुच्चोकका वडा सचिव दीपकबहादुर दर्जीसमेत चार जनाविरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
साबिकको हंसपुर र मुच्चोक गाविसका तत्कालीन गाविस सचिव दर्जी, हेल्थ असिस्टेन्ट सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी विशाल बिक र साबिक मुच्चोक गाविसका अहेब चन्द्रकान्त सुवेदीले मिलेमतोमा ६० लाख ९७ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ ।
उनीहरूले जिल्ला विकास समितिबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न रकम बुझेको तर त्यो पैसा वितरण नगरेर व्यक्तिगत खातामा लगेको अख्तियारले छानबिनबाट ठहर गरेको छ ।
अख्तियारका अनुसार आरोपितमध्ये दीपकबहादुर दर्जी र सुरेश दवाडीले संयुक्त चेकबाट रकम निकालेर विशाल विकको खातामा जम्मा गरेर हिनामिना गरेका थिए । यस्तै साबिक मुच्चोक गाविसको ३३ लाख रुपैयाँ अहेब चन्द्रकान्त सुवेदी र दीपकबहादुर दर्जीको संयुक्त हस्ताक्षरबाट निकालेर हिनामिना गरेको अख्तियारको ठहर छ ।
यसरी सरकारी कोषबाट ६० लाख ९७ हजार रुपैयाँ हिनामिना गर्ने अपराधमा संलग्न चार जनाविरुद्ध अख्तियारले बिगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान विभागले जनाएको छ ।
२०७४ साउनको ५ गते वडा नं. ३ वडा अध्यक्ष तयाराज गुरुङसँग चार दिनको बिदा मागेर हिँडेका वडा सचिव दर्जी सम्पर्कमा नआएपछि अख्तियारमा मुद्दा परेको थियो । वडा सचिव दर्जी २ करोड ९० हजार ३२० रुपैयाँ पैसा हिनामिना गरेर फरार छन् । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणका क्रममा खर्चको कुनै पनि कागजात नदेखिएपछि खर्च भएको सबै रकम उनको नाममा बेरुजुमा राखेको थियो ।
याे पनि,
१० महिनादेखि वडासचिव बेपत्ता, दुई करोड ९० हजार भन्दा बढी बेरुजु
प्रतिक्रिया