+
Search

ताजा अपडेट +

पपुलर +

एघार स्थानीय तह जित्ने दाउँमा गाेरखा कांग्रेस

लीलाधर काेइराला
२०७८ फाल्गुन २९, आईतवार १०:३३ बजे

गोरखा– नेपाली कांग्रेस, गोरखाले जिल्लाका ११ वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ तय गरेको छ । गोरखाका लागि नानु बास्तोला केन्द्रीय प्रतिनिधिका रूपमा जिल्लामा छिन् ।

अभियानको क्रममा पार्टीका एजेन्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने कांग्रेस गोरखाका प्रवक्ता भगवान्बाबु मास्केले जानकारी दिए ।

कांग्रेसले करिब तिन महिना अघिदेखि निर्वाचन लक्षित कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय जिल्लाको अजिरकाेट, सिरानचाेक, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिकालगायतका स्थानीय तहमा अभियान सञ्चालन गरिसकेको छ ।

जिल्लाका एघार स्थानीय तहमध्ये २०७४ को स्थानीय तहको निर्वाचनमा नौ स्थानमा जित हासिल गरेको कांग्रेसले केही समय अघि निर्वाचित जनप्रतिनिधिसँग पछिल्लो पाँच वर्षमा गरेका सकारात्मक कामको सूचि मागेको थियो ।

जनप्रतिनिधि उपलब्ध स्रोत साधन तथा विभिन्न अवस्थाको मूल्याङ्कन गरी आगामी स्थानीय तहका लागि टिकट दिने या नदिने टुङ्गो लगाउने बताएका थिए ।

पछिल्लो समय निर्वाचन केन्द्रित अभियानमा आक्रामक देखिएको कांग्रेसले ११ वटा स्थानीय जित्ने गरी तयारी गर्न पार्टी पङ्क्तिलाई निर्देशनसमेत दिएको छ ।

कांग्रेस गोरखामा युवाहरूको लहर चलेको भन्दै जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले एघार वटै स्थानीय तहमा जित्ने उम्मेदवार सिफारिस गर्न र सबैले स्वीकार गर्ने उम्मेदवार छान्न पालिका कमिटीलाई निर्देशन दिएका छन् ।

०७४ को स्थानीय तहमा काँग्रेससहित १६ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । तीमध्ये कांग्रेस नौ प्रमुख, सात उपप्रमुख, ४५ वडाध्यक्ष, ४१ महिला वडा सदस्य, ३९ दलित महिला सदस्य, ८५ वडा सदस्य र दलित सदस्यमा १२ गरी २३८ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला