फाइल तस्बिर
गाेरखा- गण्डकी प्रदेश सरकार अल्पमतमा परेकाे छ । अमेरिकी सहायता परियोजना एमसीसीलाई पारित गरेकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएसंगै प्रदेश सरकार अल्पमतमा परेकाे हाे ।
जनमोर्चा सरकारबाट बाहिरिङ्दा संघीय सरकारलाई असर नपरे पनि प्रदेश सरकारलाई भने असर पर्ने देखिन्छ ।
यद्यपि जनमोर्चाले प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिए, नलिएको बारे स्पष्ट भइसकेको छैन् । यदि सर्मथन फिर्ता लिने निर्णय गरे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले विश्वासको मत लिनुपर्ने छ । प्रदेश सरकारमा जनमोर्चाका २ सांसद छन् ।
पोखरेलले गत २ असारमा विश्वासको लिँदा ३१ मत प्राप्त गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा भए पनि अहिले ५९ सदस्य भएकाले विश्वासको मत पाउन ३० सांसद आवश्यक हुन्छ । जनमोर्चा बाहिरिदा सरकारका पक्षमा २९ मात्रै हुने भएकाले सरकार स्पष्टरुपमा अल्पमतमा पर्छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धन बनाएका थिए । हाल केन्द्रदेखि सबै प्रदेशमा यही गठबन्धनको सरकार छ ।
हाल पोखरेल सरकारलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका दुई र एक स्वतन्त्र सांसदको साथ छ ।
प्रदेशसभामा एमालेका २७ सांसद छन् । हालको सरकारबाट बाहिरिएर जनमोर्चाले एमालेलाई साथ दिँदा पनि सरकार बन्न सक्ने अवस्था छैन् । त्यस्तो अवस्थामा स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) निर्णायक हुने देखिन्छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री नियुक्त भएकाले यो सरकार ढलेमा अर्को सरकार बन्छ वा प्रदेशसभा विघटनमा जान्छ भन्ने विषयमा फरक फरक मत छ ।
जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै गण्डकी सरकार अल्पमतमा पर्ने र उसले कि राजीनामा दिनुपर्ने कि विश्वासको मत लिनुपर्ने निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले गठबन्धनबाट अलग भएको र जनतामाथि घात गर्ने काम गठबन्धनले गरेका कारण सरकारलाई समर्थन पनि दिइरहनुपर्ने कुनै औचित्य नरहेको बताए । सरकारमै बस्ने र सरकारकै विरोध गर्दा नैतिक प्रश्न पनि उठ्ने भएकाले पार्टीले गम्भीरतापूर्वक निर्णय गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया