गाेरखा- दशै घटस्थापनाको दिन सुरु भइ पुर्णिमाको दिन सम्म मनाइन्छ । घटस्थपनाको दिन विधिवत रुपमा पुजाआजा गरि घटको स्थापना गरि जमरा राख्ने गरिन्छ ।
त्यसपछि नियमित रुपमा पुरोहितबाट दुर्गा र चण्डी पाठ गर्ने गरिन्छ । घटस्थापना कै दिन बाट मगर पुजारी र जेठो उपासक मन्दिर मा बस्ने गर्दछन् ।घटस्थापना देखि दशमीको दिनसम्म नियमित पुजा पनि मगर पुजारीले नै गर्ने गर्दछन् । उक्त अवधिमा मगर पुजारी, पुरोहित र उपासक बाहेक अन्यलाई मन्दिरमा प्रवेश निषेध गरिएको हुन्छ ।
पुजाको बेलामा कुश पानी समात्ने गरिन्छ जसलाइ मुखिया भनिन्छ । यश अवधिमा पूजापाठमा संलग्न व्यक्तिले बिहान र दिउँसो भोजन गर्दैनन् । बेलुका मात्र भोजन गर्नु पर्दछ ।
घटस्थापनाको दिन पुजाआजाका साथमा १ बोका र १ कुपिण्डो काट्ने गरिन्छ । त्यसपछी नियमित रुपमा फूलपातिको दिनसम्म १/१ कुपिण्डो काटिन्छ । फूलपातिको दिन जेठो उपासकको साथमा अरु ३ उपासक हरु थपिन्छन् ।
जसमा जेठो र माइलो उपासकले ताकुकोट ९ को सिमानामा पर्ने धर्मावती खोलामा नुवाइ किनारबाट बालुवा,लियर फलफूल टिप्दै आउछन् ।त्यसै गरि साँहिला र कान्छा उपासकले ताकु माझ लाकुरिबोटको सिमानामा बग्ने दरौदी नदिको भोर्ले भन्ने स्थानमा नुहाएर फलफूल टिप्दै आउने गर्दछन् ।
यसो गर्दा उपासक हरु बोल्नु हुँदैन साथै अरु कसैलाई छुनु पनि हुँदैन । उनिहरुले टिपेको फलफूल झोलामा नहाली कुम्लो मा हाल्नु पर्दछ । फलफूलका साथमा जरा सहितको उखु, अशोकको फूल, जयन्ती मयन्ती, आलती मालती लगायतका दुर्लभ फूलहरु, जोर बेल अनिवार्य रुपमा ल्याइनु पर्दछ ।
फूलपातिको दिन यसरी ४ जना उपासकले संकलन गरेको फलफूल तामालाबोट ८ फूलपाती डाँडामा भेट भइ ती फलफूल सहित डोलि तयार पारिन्छ । यसरी तयार परिएको डोलि तिनै उपासक हरुले बोकि साँझपख मन्दिरमा फूलपाती भित्र्याइन्छ । सो बखत १ बोका र १ कुपिण्डोको बलि दिने गरिन्छ ।
सोहिदिन राती भद्रकाली गरिन्छ र १ बोकाको बलि चढाइन्छ ।न दिउँसो पूजापाठ गरिन्छ र राती जुन अस्ताउने बेलामा कालरात्री गरिन्छ । जसमा १ राँगा र १ बोका काटिन्छ । नवमिको दिन दिउँसो उपासकहरु सिँगरिएर खुँडा तरबार सहित मन्दिर तथा गाउँ परिक्रमा गर्ने चलन छ, जसलाई खड्क यात्रा भनिन्छ ।
धोती र गादो लगाएर हतियार सहितको यात्राका क्रममा १ राँगो र १ बोकाको बलि दिने प्रचलन छ ।विजया दशमीको दिन बिहान विसर्जन पूजा गरिन्छ र पुरोहित बाट सर्वसाधारणका लागि टीका वितरण गरिन्छ । त्यस पश्चात मात्र गाँउमा सर्वसाधारण ले टीका लगाउने चलन छ ।
सोहि दिन साँझपख फूलपातिको दिन भित्र्याइएको फूलको डोलिमा फूल प्रसाद राखी उपासक हरुले बोकि पन्चेबाजा सहित ताकुकोट १ मा रहेको कटुसे पँधेरामा फूलपाती विसर्जन गरि दशैको सम्पुर्ण पूजा विसर्जन हुन्छ ।
दशैको यो १० दिने विशेष पूजाका क्रममा नियमित रुपमा नगरा बजाउने नगर्ची (दर्जी) हरु बाट नै दिनको ९ पटक नगरा बजाइ पूजा गरिन्छ भने स्थानीय नेवारहरु बाट साँझमा मालश्री भजन गाउने गरिन्छ ।
साथै मन्दिरमा रहेका सबै हातहतियार लाई स्थानीय बिश्वकर्माले सान लगाउने (धारिलो बनाउने) गर्दछन् ।
यसरी साँस्कृतिक धरोहरको रुपमा रहेको माई भगवती मन्दिरमा सस्कृतिको जगेर्नाका साथै सम्पुर्ण जातजाति समेतको प्रत्यक्ष सहभागिता रहनुले जातिय सद्भाव समेत कायम राख्ने काम गरेको छ ।
प्रतिक्रिया