गोरखा– नेपालमै पहिलो १९५ मिटर लामो क्यान्टिलिभर पुल गोरखाको धार्चे गाँउपालिकाकाे केराैँजा यारूबगरमा निर्माण भएको छ ।
सो पुल भिर खोपेर नौलो प्रकृतिको पुल निर्माण भएको हो । चुमनुब्री गाउँपालिकास्थित चुम्चेतको स्यार खोलामाथि १२७ मिटर लामो अर्को पुल पनि निर्माण गरिसकिएको छ ।
बेलायतस्थित दातृ संस्था युकेएडको आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले यो पुल निर्माण गरेको हो ।
बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोगका लागि नेपालस्थित वरिष्ठ पूर्वाधार सल्लाहकार लियोनार्ड टेडका अनुसार यारुबगरमा तीन करोड ७५ लाख र स्यार खोलास्थित भीरमा चार करोड १५ लाख लगानी गरी क्यान्टिलिभर पुल बनाइएको हो ।
०७२ को भूकम्पपछिका पहिरो तथा बूढीगण्डकीमा आएको बाढीले मनासलु पदमार्ग कटान गरेपछि उत्तरी गोरखाका बासिन्दाहरू सदरमुकाम झर्न सकेका थिएनन् ।
बाढीले यारुबगरका पदमार्ग तीव्र कटान गरेपछि पदमार्ग अवरुद्ध रह्यो । अवरुद्ध पदमार्ग झोलुङ्गे पुलमा प्रयोग गरिने स्टीलका संरचनाहरूको प्रयोग गरी क्यान्टिलिभर पुल बनाएपछि सुचारु भएको हो ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङका अनुसार मान्छे र सामग्री ढुवानीका लागि प्रयोग गर्दै आइएका खच्चडहरू निर्बाध रूपमा क्यान्टिलिभर पुलबाट आवतजावत गर्न सक्छन् ।
‘पुल बनेपछि सिंगो चुमनुब्री र धार्चेका बासिन्दा खुसी छन् । पुलको आयु कम्तीमा ५० वर्ष हुने प्राविधिकहरूले बताएका छन्, रेखदेख र मर्मत समयमै गछौं’ उनले भने ।
धार्चेका अध्यक्ष सन्तोष गुरुङले क्यान्टिलिभर पुललाई पर्यटनसंग जोडेर पर्यटक भित्र्याउने अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘अब खतरापूर्ण तवरले डोरीमा झुन्डिएर बटुवाहरू भीरको बाटो हिँड्नुपर्दैन ।
आरुघाटबाट खाद्यान्न र निर्माण सामग्री ढुवानी सजिलै गर्न सकिने भयो । यति मात्रै होइन, नेपालमै पहिलो प्रकृतिको क्यान्टिलिभर पुलसम्म पर्यटक ल्याउन हामीले सक्नुपर्छ ।’ मनासलु पदमार्गमा यारुबगरको क्यान्टिलिभर पुल पर्छ भने चुम जाने पर्यटकहरूले स्यार खोलाको पुल प्रयोग गर्छन् । मनासलु क्षेत्रमा वर्षमा पाँच हजार जना हाराहारीमा विदेशी पर्यटक आउँछन् ।
‘डोरीमा झुन्डिएर भीरको बाटो कट्नुपथ्यो । चिप्लियो भने सिधै बूढीगण्डकीको भँगालोमा परिन्थ्यो, ज्यान खेर जान्थ्यो’ चुम्चेतका स्थानीय बासिन्दा शेराप लामाले भने, ‘पुल बनेपछि खुरुखुरु हिँड्न पाइयो, अलमल भएन भने समय बचत भयो ।’
जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर होमनाथ पौडेलले पुल हेरालु तथा मर्मतका लागि स्थानीय कामदारलाई तालीम दिइसकेको बताए ।
निर्माण सकिएका दुवै क्यान्टिलिभर पुलहरू युकेएडले जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिसकेको छ ।
‘भीरमा पुल बनेपछि उत्तरी भेगका आठ हजार भन्दा बढी स्थानीय बासिन्दा र मनासलु क्षेत्र अवलोकन गर्न आउने पदयात्रीलाई सजिलो भयो’ जिससका प्रमुख अशोक कुमार गुरुङले भने ।
प्रतिक्रिया