+
Search

ताजा अपडेट +

पपुलर +

युवा–युवतीलाई साइबर ब्यूरोको अनुरोध : म्यासेन्जरमा गोप्य भिडियो माग्ने कल आए प्रहरीलाई खबर गर्नु

4KNationalDaily
२०७७ कार्तिक १२, बुधबार १८:४३ बजे

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित नम्बरबाट आउने फोन सामाजिक सञ्जालमा आउने सन्देश (म्यासेज) बारे सचेत रहन युवा–युवतीहरुमा अनुरोध गरेको छ ।

पछिल्लो समय ‘अननोन’, ‘प्राइभेट’ वा कुनै नम्बर डिस्प्ले नै नहुने तथा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर फोन गरी गोप्य विवरण माग्ने गरेका घटना बढेको भन्दै साइबर ब्यूरोले त्यसप्रति सचेत रहन आग्रह गरेको हो ।

प्रहरीका अनुसार केही व्यक्तिहरुले अननोन नम्बर र फेसबूक म्यासेन्जर र सामाजिक सञ्जालबाट कल गरेर साइबर क्राइम डिपार्टमेन्टबाट बोलेको भन्दै विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेलिङ गर्ने गरेका छन् ।

‘म साइबर डिपार्टमेन्टबाट बोलेको हो, तपाईंको फेसबूक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, हामीले एक पटकको लागि त्यसो हुनबाट रोकिदिएका छौं, तर भेरिफिकेशनका लागि तपाईंले आफ्नो न्यूड फोटो, भिडियो पठाउनुहोस् भनेर ई–मेल, सामाजिक सञ्जाल, फेसबूकको म्यासेन्जरमा पठाउन लगाउने, तत्पश्चात उक्त ई–मेल, फेसबूकको आई डी, म्यासेन्जर डीएक्टीभ गर्ने गरेको भन्ने सूचना एवम उजुरीहरु प्राप्त भैरहेकोप्रति ब्यूरोको ध्यानाकर्षण भएको छ,’ साइबर ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले एक वक्तव्य जारी गर्दै भनेका छन् ।

साइबर ब्यूरोल त्यस्ता गतिविधिहरु गैर कानूनी भएको उल्लेख गर्दै झुक्यानमा पार्ने खालका क्रियाकलापहरुबाट सचेत रहन र आफ्ना व्यक्तिगत कुनै पनि विवरणहरु उपलब्ध नगराउन अनुरोध गरेको छ । साथै त्यस्ता कार्यहरु भए गरेको पाइएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि एसएसपी अर्यालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily