काठमाडौं- बौद्धस्थित फूलबारीका १० वर्षीय हाङ्जी लामा १७ साउनमा साथीसँग खेल्न सडकमा निस्किएका थिए। एक अपरिचित महिला उनको नजिक आइन्। ‘तिम्रो ममीलाई चिन्छु नि’ भन्दै उनकी आमाको नाम लिइन्।
उनले ‘जाऊँ आइसक्रिम खान, म किनिदिन्छु’ भन्दै हाङ्जीलाई सकडको छेउतिर लगिन्। सडकछेउमा पुगेपछि ‘हेर नानी ! कानमा गहना लाउन हुन्न नि, जोगीले लग्छ, फुकाल त ! म ममीलाई लगेर दिन्छु’ भन्दै हाङ्जीको कान सुमसुम्याइन्। उनको कानको मुन्द्रा खोलेर क्षणभरमै बेपत्ता भइन्।
जडीबुटीका नौ वर्षीया अनिसा तोलाङे ६ वर्षीया बहिनी दीपिकासँगै ११ साउन दिउँसो सडकमा खेल्दै थिइन्। सामुन्ने आएकी एक अपरिचित महिलाले ‘कति क्युट नानी, आऊ त । म चकलेट किनिदिन्छु’ भन्दै लोलोपोतो गरिन्। आमाको नाम लिएपछि अनिसा पनि बहिनी दीपिकासँगै चकलेट खान उनको पछि लागेको खबर आजको नयाँ पत्रिका देनिकमा टेकराज थामीले लेखेका छन।
मान्छे नभएको ठाउँमा पुगेपछि ‘कानको मुन्द्री खोला त, यो सानो भएछ, म ठूलो किनिदिन्छु’ भन्दै अनिसा र दीपिकाको कानको मुन्द्री खोलिन्। चकलेट खान पाउने लोभले दुवैजना चुपचाप बसे, तर मुन्द्रीसहित ती महिला अलपत्र भइन्।
११ साउनमा चार वर्षीय सियुक कार्की सुकेधारास्थित चौरमा साथीभाइसँगै खेल्दै थिए।
‘तिम्रो बाबाको नाम गोपाल कार्की होइन ? आउन म आइसक्रिम किनिदिन्छु’ भन्दै एक अपरिचित युवक सियुकनजिक पुगे। बाबाको नाम लिएपछि सियुक पनि ती युवकसँग नजिकिए । उनले सियुकलाई काखमा च्यापेर पसलमा लगे। आइसक्रिम पनि किनिदिए। गाला सुमसुम्याउँदै कानको मुन्द्रा झिकेर सियुकलाई त्यहीँ छाडी केहीबेरमै त्यहाँबाट हिँडे।’
प्रतिक्रिया