काठमाडौं-
घटना— १
कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित ‘सी गाउँ’का अमरबहादुर चन्द प्रहरी नियन्त्रणमा रहेका बखत शौचालयमामृत अवस्थामा फेला परे। इलाका प्रहरी कार्यालय बहुलिया (फूलबारी) को हिरासतको शौचालयमा गएका चन्द नफर्किएपछि हेर्न जाँदा उनको मृत्यु भइसकेको थियो।
घटनास्थल नजिकै दाह्री काट्ने ब्लेड फेला पर्नु र घाँटीमा गहिरो चोट देखिएकाले उनले आफैं आत्महत्या गरे वा कसैले घटना गरायो भन्नेमा प्रहरी अनुसन्धानमै छ। हिरासतमा थुनुवा राख्दा जुत्ताको तुनासमेत फुकाल्न लगाउने प्रहरीले ब्लेड कसरी शौचालयसम्म पुर्याउन दियो।
चन्दको मृत्यु रहस्यमय बनेको छ। चन्दका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेको खबर आजको अन्नपूर्ण पोस्टमा सुवास गोतामेले लेखेका छन।
घटना— २
भदौ २६ गते जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको शौचालयमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय युवक रोशन विकलेआत्महत्या गरे।
आफ्नै कमिजको पासो बनाएर विकले आत्महत्या गरेको दाबी प्रहरीको छ। पासो लगाएर आत्महत्या गरेको भनिएका विकको नाकबाट रगत बगेको, निधार, मुख र शरीरका विभिन्न भागमा नीलडाम देखिएपछि पीडितका आफन्तले घटना प्रहरीको यातनाबाट भएको दाबीसहित छानबिनको माग गरे।
पीडित परिवारको मागअनुसार प्रहरीले सशस्त्र प्रहरी गण मुख्यालय धनगढीका एसपी राजीव बस्नेतको अध्यक्षतामा बनाएको समितिले छानविन गरिरहेको छ।
घटना— ३
हत्या आरोपमा पक्राउ परेका गरुडाका विजय रामको रौतहटस्थित इलाका प्रहरी कार्यालय गरुडामा प्रहरीको चरम यातनापछि मृत्यु भयो। उपचारका क्रममा भदौ १० गते नेसनल मेडिकल कलेज वीरगन्जमा विजयको मृत्यु भएपछि पीडितका आफन्तले छानबिनको माग गरे।
मृत्युअघि अस्पतालको बेडबाटै आफूलाई प्रहरीले हिरासतमा कुटपिट र यातना दिएको भिडियो विजयले सार्वजनिक गरिदिए।
घटनाको चौतर्फी विरोधपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्कालाई मुख्यालय तान्यो। इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज ज्ञानकुमार महतोलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय तानिएको छ।
यातना दिएको आरोप लागेका निरीक्षक नवीनकुमार सिंह, हबलदारद्वय फिरोजमिया धुनिया र मन्नुकुमार सिंहलाई एक महिनाको लागि निलम्बन गरिएको छ।
घटना— ४
महानगरीय प्रहरी परिसर ललितपुरको हिरासत कक्षमा असार १७ मा सिरहाका दुर्गेश यादवले झुन्डिएर आत्महत्या गरे। शौचालयको झ्यालमा झुन्डिएर यादवले आत्महत्या गरेको दाबी प्रहरीको छ।
यादवमाथि १७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लगाइएको थियो।
यादवका आफन्तले उनीमाथि बलात्कारको आरोप लगाउने युवती र अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीमाथि छानबिन गर्न माग गरे। तर, कुनै छानबिन अघि बढेन।
यी चारघटना प्रहरी हिरासतमा खटिएका सुरक्षाकर्मीको चरम लापरबाही र थुनुवामाथि भएका यातनाबाट सिर्जित घटना हुन्। प्रहरीले आफ्नो कार्य संवेदनशीलतालाई मान्दै मानवअधिकारको संरक्षण र रक्षालाई अग्रपंक्तिमा राखे पनि एकाध घटनाले सधैं विवादमा आइरहेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ।
घटना शंकास्पद भएको अवस्थामा प्रहरी प्रधान कार्यालय आफैंले हस्तक्षेप गरेर लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्दै आएको छ। विभागीय कारबाहीलाई मात्रै अस्त्र बनाएर लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कठोर नीति अख्तियार गर्न नसकेको आरोप प्रहरी नेतृत्वमाथि बेलाबेला लाग्ने गरेको छ।
प्रतिक्रिया