+
Search

ताजा अपडेट +

पपुलर +

माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनाको शिलान्यास, ३७ मेगावाटको क्यासकेड आयाेजना तीनवर्षभित्रै बनाइसक्ने लक्ष्य

4KNationalDaily
२०७५ माघ २७, आईतवार १७:५१ बजे

काठमाडौं– माथिल्लो त्रिशूली ‘थ्रि’ ‘ए’को क्यास्केड आयोजनाका रुपमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ‘थ्रि’ ‘बी’ जलविद्युत आयोजना निर्माणको शिलान्यास भएको छ।

२०७७ फागुन मसान्तभित्र निर्माण गरिसक्ने लक्ष्यका साथ ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आइतबार आयोजनाको शिलान्याश गरेका हुन्।

नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको उक्त आयोजना रसुवा र नुवाकोटमा बन्नेछ।आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर स्वामित्व छ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने व्यवस्था गरिएको छ।

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ। आयोजनामा नबिल बैकको अगुवाईमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुनेछ।

प्रवद्र्धक कम्पनी र बैकहरुबीच ४ भदौ २०७५मा ऋण सम्झौता भइसकेको छ। इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ। क्यास्केड आयोजना भएकाले यो आयोजनाका लागि बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर)लगायतका संरचना बनाउनु पर्ने छैन।

उद्धाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली ३बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए।

घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ (३८००मिटर), विद्युत गृह, सर्ज ट्यांकलगायतका संरचनाको काम सुरु गर्ने अवस्थामा रहेको जानकारी दिए। प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि एको क्यास्केड आयोजना हो।

आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म)१५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने जनाइएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) पनि भइसकेको छ।

विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन गौतमले दाबी गरे। आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा विद्युत् जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily