+
Search

ताजा अपडेट +

पपुलर +

अनलाइन कक्षा लिनेका लागि एनसेलले ल्यायो विशेष डेटा अफर

4KNationalDaily
२०७७ श्रावण १४, बुधबार २०:३८ बजे

काठमाडौं– एनसेलले हिसानअन्तर्गतका विद्यार्थीलाई अनलाइन कक्षाका लागि विशेष अफर ल्याएको छ।

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी‚ शिक्षक/शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्नका लागि ल्याइएको योजनामा भ्वाइस‚ डेटा र बन्डलसहितको एसएमएस सेवा लिन सकिने एनसेलले बताएको छ।

एनसेल र माध्यमिक विद्यालहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी भएपछि एनसेलले यस्तो योजना ल्याएको हो।

यो योजनाअन्तर्गत विद्यार्थीले २५० (करबाहेक) रूपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउनेछन्। यसैगरी मासिक ३५० रूपैयाँ (करबाहेक) को योजना पनि उपलब्ध छ।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए। ‘विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily