+
Search

ताजा अपडेट +

पपुलर +

वर्किङ भिसाको प्रलोभन देखाएर ठगी धन्दा : पोल्यान्ड हिँडेका १७ नेपाली चार महिना अजरबैजानमा बन्धक

4KNationalDaily
२०७६ माघ १५, बुधबार ०७:०१ बजे

काठमाडाैं- सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने ।

उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैयाँ बुझाएका थिए ।

तर, उनले पोल्यान्ड टेक्नसमेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएकाे खबर अाजकाे नयाँपत्रिकामा टेकराज धामीले लेखेका छन् ।

डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका उनले नयाँ पत्रिकासँग भने, ‘वर्किङ भिसामा पोल्यान्ड लैजाने भन्यो ।

कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो । यसका लागि आठ लाख रुपैयाँ बुझाउनुपर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौँ ।

ऋण गरेर उसले मागेजति रकम दियौँ । लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौँ ।’

विमानस्थल पुगेपछि अजरबैजानको बिजनेस भिसा हातमा

पाल्पा तानसेनका २७ वर्षीय शशी ज्ञवाली र विजय कार्कीको पीडा पनि थापाको भन्दा फरक छैन ।

उनीहरू पनि प्रतिमहिना पाँच सय युरो कमाउने दलालको प्रलोभनपछि पोल्यान्ड जान राजी भए ।

यसका लागि प्रतिव्यक्ति आठ लाख दलाललाई बुझाए । वर्किङ भिसामा पोल्यान्ड जाने मनस्थितिमा रहेका उनीहरू तब झस्के, जब हातमा अजरबैजानको बिजनेस भिसा पर्‍यो ।

तर, त्यसवेलासम्म उनीहरू दलालको जालमा फसिसकेका थिए ।

काभ्रे रोसीका गुणराज लामाद्वारा ३५ भन्दा धेरै युवासँग करोड ठगी

पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभे्र रोसीका ३८ वर्षीय राजकुमार भनिने गुणराज लामा हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनको गिरोहले आकर्षक तलबमा पोल्यान्ड लैजान प्रलोभन दिएर ३५ जनाभन्दा धेरै युवा ठगेको छ । जसमध्ये १५ पीडितले जाहेरी दिएका छन् । झन्डै एक करोड रुपैयाँ ठगिएको जाहेरीमा उल्लेख छ ।

लामा सामान्य धरौटीमा रिहा भए, परिचय बदलेर ठगी धन्दा सुरु गरे

प्रहरीका अनुसार लामा पहिले सामाखुसीमा देउराली ह्युमेन रिसोर्स नामको मेनपावर चलाउँथे । अहिले उनको प्रस्तुति रिक्र्युट नामको मेनपावर छ ।

उनले देउराली ह्युमन रिसोर्सबाटै डिल गरेर ३५ भन्दा धेरै युवालाई विश्वका विभिन्न मुलुक लैजाने प्रलोभन दिएका थिए । तर, आफूले भनेको मुलुक जान नपाएपछि पीडितहरूले लामाविरुद्ध प्रहरीमा दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।

उनलाई ५ पुस ०७४ मा वैदेशिक न्यायाधिकरणले दोषी ठहर गर्दै तीन वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily