काठमाडौं– विभिन्न व्यक्तिलाई जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गनए जिल्ला अदालत रौतहटले आदेश दिएको छ।
आइतबार न्यायाधीश चाणकमणि अर्यालको इजलासले ५ दिन थुनमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यसअघि अदालतले ७ दिन थुनमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।
विष्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।
उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।
प्रतिक्रिया