+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले यस कारण अस्वीकृत गर्‍याे आइजिपी खनालको अमेरिका भ्रमण

4KNationalDaily
२०७६ आश्विन ९, बिहीबार ०७:०० बजे

काठमाडौं- सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ ।

उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ ।

सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरूको नियमित सहभागिता रहँदै आएको छ ।

तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। मंगलबारको मन्त्रिपरिषद्को बैठकमा भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

प्रहरी महानिरीक्षकको विदेश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ ।

चिलीमा १६ अक्टोबरदेखि हुन लागेको इन्टरपोलको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना छ ।

विनाकुनै कारण उनको भ्रमण अस्वीकृत भएपछि गृह मन्त्रालयका अधिकारीले आश्चर्य मानेका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआइजीहरूको सरुवासमेत गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयमा सरुवा गरिएको छ ।

उनलाई मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुईवटा विभागको नेतृत्व हेर्ने गरी मुख्यालयमा सरुवा गरिएको हो ।

त्यस्तै, मुख्यालयका एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा प्रहरीका एआइजीको सरुवा भएको स्रोत बताउँछ ।

‘प्रहरी मुख्यालय कमजोर भएको बुझाइका आधारमा एआइजी पुष्कर कार्कीलाई मुख्यालयमा सरुवा गरिएको सुनिन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसले सरकार प्रहरी महानिरीक्षकको कार्यशैलीसँग खुसी छैन भन्ने देखाउँछ ।’

आइजिपी खनाल र एआइजी कार्कीबीच व्यक्तिगत सम्बन्ध राम्रो छैन । सोही कारण खनालले आफूअनुकूलका एआइजी राईलाई मुख्यालयमा राखेर कार्कीलाई प्रतिष्ठानमा सरुवा गराएका थिए ।

प्रहरी मुख्यालयमा कार्यरत एआइजीसँग आइजिपीले बिहानदेखि बेलुकासम्म सरसल्लाह लिनुपर्ने हुन्छ । प्रहरीका सरुवा–बढुवादेखि दैनिक अप्रेसनका काम हेर्नुपर्ने हुँदा नियमित आइजिपीसँग सरसल्लाह गर्नुपर्ने हुन्छ । आइजिपी बढुवामा दुवै प्रतिस्पर्धी भएकाले उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily