काठमाडौं- चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ।
उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको खबर आजको समाचारपत्र दैनिकमा ईश्वराज ढकालले लेखेका छन्।
उपत्यकाको तीनैवटा परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको हो।
‘हामीले चाडबाड लक्षित सुरक्षाअन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं,’ –सार्वजनिक सुरक्षा योजनाबारे जानकारी गराउँदै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले भने।
काठमाडौंले जस्तै ललितपुर र भक्तपुर परिसरले पनि सुरक्षा योजना तयार पारेको छ। तीनै परिसरले विशेष गरी उपत्यकाबाट बाहिर जाने–भित्रिने नाकामा कुकुरले जाँच गर्ने व्यवस्था मिलाएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुवेदीले विशेष गरी थानकोट, फर्पिङ नाकामा सो व्यवस्था गरेको छ।
त्यस्तै भक्तपुर परिसरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले पूर्वबाट काठमाडौँ फर्किने जगाते नाकामा कुकुरले सुरक्षा जाँच शुरू गरेको जानकारी दिए।
सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले तीनै परिसरले सुरक्षा योजना तयार गरेको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले विगतमा भएको सुरक्षा योजनाको तथ्यगत अनुसन्धान गरी यो वर्षको सुरक्षा योजना तयारी गरेको जानकारी दिए।
प्रतिक्रिया