काठमाडौं- प्रहरीले काठमाडौंको माछापोखरीबाट आठ युवा पक्राउसँगै बरामद गरेको दुई थान पेस्तोल गोरखाका कुशल अधिकारीको भएको खुलासा गरेको छ ।
गत २१ भदौमा प्रहरीले दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित काठमाडौंको माछापोखरीबाट ८ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा सिपाहीदेखि विप्लवका कार्यकर्तासम्म थिए ।
पक्राउ पर्नेहरुमा गोरखा अजिकोटका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वरका २९ वर्षीय रामबहादुर तामाङ, नुवाकोट विदुरका २५ वर्षीय धर्मराज तामाङ, रसुवा छेदिङमोका २९ वर्षीय योर्साङ घले, धादिङ खनिवासका २७ वर्षीय विजय तामाङ, नुवाकोट विदुरका ३० वर्षीय पिटर तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ रहेका छन् ।
गोरखा अजिकोटका ३८ वर्षीय अधिकारी सेनाका भगौडा हुन् भने रसुवा छेदिङमोकाका २९ वर्षीय योर्साङ घले ‘गोरे’ विप्लव कार्यकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका ८ जना लुटेरा समूह हुन् । लुटेरा समूहबाट बरामद भएको पेस्तोल नेपाल प्रहरीले प्रयोग गर्ने खालका हुन् ।
पेस्तोल बाहिर लेखिएको नम्बरहरु सबै मेटिएको र प्रयोग भइरहेको अवस्थाको देखिएकाले पुलिसकै पेस्तोल हुन सक्ने अनुमान गरिएको थियो । तर, बरामद २ वटै पेस्तोल अधिकारीको रहेको पाइएको छ ।
कुशलले १२ वर्षअघि एक व्यक्तिबाट पेस्तोल किनेको प्रहरीसमक्ष बयान दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिएका छन् ।
कुशलले को व्यक्तिबाट पेस्तोल किनेको र कहिले किनेको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुशल कांग्रेस कार्यकर्ता समेत हुन् । कुशल २०७४ सालको संविधानसभाको चुनावमा कांग्रेस नेताहरुसँग चुनाव प्रचार प्रसारमा समेत सक्रिय देखिएको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया