गाेरखा- १६ किलोग्राम सुनसहित एक महिनादेखि फरार रहेका धनकमल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार ११ गतेदेखि फरार रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका टोलीले बिहिबार धार्चे गाउँपालिका ३ बाट पक्राउ गरेको एसपी ओम अधिकारीले जानकारी दिए ।
गुरुङले धार्चे गाउँपालिका ३ खोर्लाबेशीको जंगलको ओढारमा लुकाइछिपाइ राखेको १६ किलोग्राम सुन पनि बरामद गरेको एसपी अधिकारीले जानकारी दिए ।
बिहिबार साँझ जिल्ला प्रहरी कार्यालय गोरखामा आयोजित पत्रकार सम्मेलनमा धार्चे गाउँपालिका १ यारुबगरका होटल तथा खच्चड ब्यबसायी धनकमलले चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारबाट खच्चडमा बोकाएर सुन ल्याएको स्वीकार गरेका छन् ।
‘जमिनभित्र झोला र सलमा बेरेर बोराभित्र राखेको अबस्थामा सुन भेटियो’, पत्रकार सम्मेलनमा एसपी अधिकारीले भने । सो सुनलाई परीक्षणका लागि राजस्व अनुसन्धान बिभाग पठाउने एसपी अधिकारीले बताए ।
‘हामी राजस्व अनुसन्धान बिभागमा बुझाउँछौं’, एसपी अधिकारीले भने, ‘अबको मुद्दा चलाउने, अनुसन्धान गर्ने काम बिभागले नै गर्ने छ ।’
सो घटनामा संलग्नको आरोपमा प्रहरीले असार १२ गते तीनजनालाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न छ जना अझै फरार रहेका प्रहरीले जनाएको छ । उनीहरु बिरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको एसपी अधिकारीले बताए ।
यसरी भएको थियो घटना
नेपाली सेनाले दिनभर सडक निर्माणको काम गर्ने भएपछि धनकमल र उनका खच्चडका गोठाला गत असार ११ गते राती १० बजे खच्चडलाई सुन बोकाएर माछाखोलातर्फ झर्दै थिए । खच्चड गोठालाले माछाखोलामा रहेका युवा जत्थालाई फोन गरी साहुले सुन ल्याएको सुराकी गरेका थिए ।
सुन आउँदै गरेको थाहा पाएपछि उनीहरुले खोर्लाबेशीमा पर्खेर बसेका थिए । जब धनकमल खोर्लाबेशी आइपुगे, एक्कासी उनीहरुले धनकमलमाथि आक्रमण गरे । तर खच्चडको भारी फुकाएर धनकमल आक्रमणकारीबाट पनि बचे, सुन पनि लुकाउन भ्याए ।
सो रात उनले नजिकैको जंगलमा कटाए । सुन भने खाल्डो खनेर ओढारमा लुकाएका थिए । आक्रमणको घटना बारे माछाखोला प्रहरी चौकीमा जानकारी भएपछि प्रहरी घटनास्थलमा पुग्यो ।
घटना बारे प्रहरीसम्म जानकारी पुगेपछि आक्रमणकारी पनि भागे । धनकमल पनि फरार भए । भाग्दै गरेका आक्रमणकारीमध्य तीनजना गुम्दाबाट पक्राउ परे भने अन्य छ जना अझै फरार छन् ।
धनकमल भने यसबीचमा तीनफेर परिबारको सम्पर्कमा तथा खोर्लाबेशीमा देखा परिसकेका थिए । सुनका मुख्य कारोबारी तिब्बती नागरिक भएको र प्रमुख भरिया छेकम्पारका बासिन्दा भएको अनुमान छ ।
छेकम्पारका एक जनाले धनकमलको साथमा १८ किलो सुन बोकाएर पठाएको एक स्रोतले बताएको छ । ‘धनकमलबाट १६ किलो बराम भएको छ । दुई किलो अझै गायब छ’, स्रोतले भन्यो, ‘धनकमलको निगरानी गरिदिन छेकम्पारका एक जनाले बारम्बार माछाखोलाका स्थानीयबासीलाई फोन गर्ने गरेबाट मुख्य भरिया छेकम्पारका हुन् भन्न सकिन्छ ।’
तस्करीको ट्रान्जिट बन्दै गोरखा रुट
रसुवागढी र तातोपानी नाका ब्यबस्थित बन्दै गएपछि तस्करहरुले गोरखा नाका प्रयोग गर्न थालेका छन् । गोरखाको रुइला र ङुइला नाका हुदै अवैध ओसारपसार बढ्न थालेको हो ।
पछिल्लो पटक छेकम्पारको ङुइला नाका हुदै तिब्बतबाट भित्रिएको १८ किलोग्राम मध्य १६ किलोग्राम सुन बरामद भएको छ । यसअघि २०७५ भदौ २३ गते चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट प्रहरीले १० किलोग्राम सुन बराम गरेको थियो ।
पाँच–पाँच किलो सुन बोकेर आएका चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ बर्षका डुण्डुप लामा र २८ बर्षका लोप्साङ पेम्बे लामालाई फिलिमबाट प्रहरीले पक्राउ गरेको थियो ।
सो घटनाभन्दा अघि २०७४ साल कात्तिक १६ गते लम्जुङको खुदीबाट १७ किलो सुनसहित पासाङ लामा पक्राउ परेका थिए । गोरखाको रुइला नाका, साम्दो, लार्केपास र मनाङको भीमथाङ, धारापानी हुदै सुन ल्याएका नासुर गाउँपालिका ९ दानाक्यू मनाङका २९ बर्षीय लामा पक्राउ परेका थिए ।
सो घटनाअघि २०६९ पुस २२ गते ठूलो परिमाणमा चिरुको रौं बराम भएको थियो । छेकम्पारको ङुइला नाका हुदै अबैध तस्करी भएको एकहजार एकसय ८९ किलो चिरुको रौं साबिक थुमी गाविसको केउरपानीबाट बरामद गरिएको थियो ।
सिआइबीको टोलीले दुईबर्षको अनुसन्धानपछि चिरुको रौं ओसारपसारमा संलग्न मुख्य भरिया छेकम्पारका रिजन वाङ्दा लामालाई पक्राउ गरेको थियो । विश्व बजारमा करिब चार अर्ब रुपैैया पर्ने सो परिमाणको चिरुको रौंका मुख्य कारोबारी भने पक्राउ परेका छैनन् ।
गोरखाका दुई नाका संवेदनशील बन्दै गएको गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । साथै सुरक्षा ब्यबस्था पनि कडा हुदै गएको उनको भनाइ छ ।
‘गोरखाका नाका हुदै तस्करीका सामान आउँदा रहेछन् भन्ने त पुष्टि भइसक्यो’, उनले भने, ‘सुरक्षा व्यबस्था कडा भएकाले नै तस्करीका सामान फेला परेका हुन् नत्र फेला पर्ने थिएनन् ।’
प्रतिक्रिया