गोरखा- गोरखाका सुरक्षा प्रमुखहरू सीमा अवलोकनको निहुँ पारेर एनजिओको भ्रमणमा उत्तरी गोरखामा रहेका बेला जिल्ला प्रहरी कार्यलय गोरखाको प्रहरी हिरासतबाट तीन थुनुवा भागेका छन् ।
राति १२ः४५ बजे हिरासत भित्रको शौचालयको रड भाँचेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए।
फरार हुनेमा गोरखा नगरपालिकाका ६ का दिपेश मजाकोटी, भीमसेन गाउँपालिका ३ का अभिषेक अधिकारी र भीमसेन गाउँपालिकाकै सन्दीप सुर्खेती रहेका छन् ।
तीनमध्ये अधिकारी र सुर्खेती लागूऔषध सम्बन्धी कारोबारी रहेका थिए । मजाकोटी गत भदौ १८ गतेदेखि थुनामा थिए भने अधिकारी र सुर्खेती बिहीबारमात्रै पक्राउ परेका थिए ।
उनीहरु शौचालयको झ्यालको रड बंग्याएर कार्यालय पछाडिको कम्पाउण्डको बाटो भागेको हुन सक्ने शाहले जानकारी दिए । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
गोरखाका प्रहरी प्रमुख प्रकाश अधिकारी सहित गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र राष्ट्रिय अनुसन्धानकी जिल्ला अधिकृत रजनि धिमिरे पद्धति नामक गैरसकारी संस्थाले चार्टर गरेको हेलिकप्टर चढेर एनजिओको अर्थ सहयोगमा अहिले उत्तरी गोरखामा रहेका छन् । उनीहरु भेली मात्र गोरखा बजार आउने कार्यकम रहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया