+
Search

ताजा अपडेट +

पपुलर +

पैसा निकासा नहुँदा जिल्ला भरका विद्यालय समस्यामा

4KNationalDaily
२०७१ चैत्र २६, बिहीबार ११:२४ बजे

गोरखा-जिल्ला शिक्षा कार्यालय गोरखाका लागि विद्यालय क्षेत्र सुधार कार्यक्रमको पैसा निकासाको अख्तियारी नआउँदा जिल्लाभरका विद्यालयलाई गतिविधि संचालन गर्न समस्या भएको छ ।

तेस्रो चौमासिक सुरु भईसक्दा दोस्रो चौमासिकको अख्तियारी नआएपछि शिक्षकहरु शिक्षा कार्यालय गुनासो गर्न पुग्ने क्रम दिनदिनै छ ।

फागुन मसान्त भित्र निकासा भईसक्नुपर्ने छ करोड ५१ लाख ९९ हजार रुपैयाँको फुकुवा नआएकाले खर्च गर्न नसकिएको लेखा अधिकृत केदारनाथ कँडेलले बताए ।

‘पहिलो चौमासिकमा ६ करोड ५६ लाख ३३ हजार रुपैयाँ आएको थियो, बेलैमा अख्तियारी आएकाले कुनै समस्या भएन’ लेखा अधिकृत कँडेलले भने ‘अहिले तेस्रो चौमासिक सुरु भईसक्यो, तर खर्च गर्न फुकुवा ढिला गरी आयो ।’

बैदेशीक सहायताबाट प्राप्त बजेट भएकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमको प्रत्येक चौमासिकमा फुकुवा आएपछि मात्रै खर्च गर्न मिल्ने उनले बताए ।

‘शिक्षा बिभागले फुकुवा पत्र पठाउँछ, हामीले कोष तथा लेखा नियन्त्रण कार्यालय जिल्लालाई बुझाउँछौँ, अनि मात्रै फुकुवा हुन्छ’ कंडेलले भने ‘पत्र मंगलबार मात्र आएको छ ।’

समयमै अख्तियारी नआउँदा गोरखा जिल्लाका सबै विद्यालयको आन्तरीक गतिवीधि संचालन गर्न समस्या भएको गुनासो शिक्षकहरुले गरेका छन् । कात्तीक यता जिल्लाका विद्यार्थी पाउनुपर्ने महिला, दलित लगायत अन्य छात्रवृत्ती रकम पाएका छैनन् । सट्टा शिक्षकहरुको तलब पनि निकासा भएको छैन ।

बाल कक्षा, विद्यालयको आन्तरीक कर्मचारी ब्यवस्थापन र मलसन्द खर्च समेत विद्यालयमा नपुग्दा समस्या भएको गुनासो शिक्षकहरुको छ । मासिक तीन हजार पाउने ईसिडी कक्षाका शिक्षकले तलब पाएका छैनन ।

नामरुकदेवी निमाविका प्रधानाध्यापक कृष्ण पोखरेलले भने ‘मासिक तीन हजार तलब छ त्यो पनि ईसिडीका शिक्षकलाई समयमै दिन सकिएको छैन, विद्यालयले त जसो तसो समुदायमा ऋण खोजेर परिक्षा चलाएका छौँ ।’समयमै बजेट नजाँदा विद्यालयले योजना अनुसार काम गर्न नसक्ने र नतीजामा समेत ह्रास आउने उनी बताउँछन् ।

‘विद्यालयमा जाने शिक्षकको तलब बाहेक अन्य सबै पैसा फकुवा ढिला आएकाले रोकिएको छ’ जिल्ला शिक्षा अधिकारी हरि अर्यालले भने ‘अरु विद्यालयले त जसो तसो चलाएका छन्, अपाङ्ग, सुस्तमनस्थिती, दृष्टिबिहीन, बहिरा विद्यार्थी पढ्ने एक दर्जन विद्यालयको बजेट नजाँदा निकै समस्या भएको छ ।’ ती विद्यालयका शिक्षकले विद्यालय खाना खान नपाएको गुनासो गर्दै कार्यालयमा दैनिक फोन गर्नेगरेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily