गोरखा- सहिद लखन गाउँपालिका वडा न ७ र ८ मा बिशेषज्ञ डाक्टरसहितकाे सेवा सुरू भएकाे छ । गाउँपालिकाकाे अार्थिक बर्ष २०७५/७६ काे स्वाथ्य कार्यक्रम अन्तगत ७ र ८ वडाले कार्यक्रम सुरूवात गरेकाे हाे ।
बुंकोट स्वास्थ्य चौकीबाट अब हरेक हप्ताको शुक्रबार गोरखा अस्पतालका बिशेषज्ञ डाक्टरहरुले निशुल्क स्वास्थ्य जाँच गराउने ब्यवस्था मिलाइएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘सदरमुकामबाट नजिक रहेर पनि स्वास्थ्य सेवाको पहुँचबाट यहाँका जनता टाढा हुनुपरेको अवस्था छ’ उनले भने ‘अब हरेक हप्ता बिशेषज्ञ डाक्टरहरुलाई गाउँमै ल्याएर जाँच गराउने प्रवन्ध मिलाएका छौ ।’
‘हामीले पहिला पनि जनतासंग प्रतिवद्धता गरेका थियौ, गाउँमै भरपर्दो स्वास्थ्य सेवा ल्याउछौ भनेका थियौ, आजबाट सुरु भयो, यसले पक्कै पनि यहाँका जनतामा ठूलो राहत मिल्नेछ’ श्रेष्ठले भने ‘यो अभियानमा हामीलाई गोरखा अस्पतालले सहयोग गरेको छ, अस्पतालसंग हाम्रो एक बर्षको सम्झाैता भएको छ।’
यसका लागि जिल्ला अस्पतालले निशुल्क रुपमा प्रत्येक हप्ता विशेषज्ञ डाक्टर बुंकोट पठाउने र त्यँहासम्म जाने आउने वडाले यातायात र खाजाको ब्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।
बुंकोटबाट यस्तो सेवा सुरु गर्न पाउदा आफुहरु पनि निक्कै खुसी भएको गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारीले बताए । त्यस क्षेत्रका बिरामीलाई गाउँमै गएर सेवा दिन वडा कार्यालयबाट अनुरोध आएपछि आफुले सम्झौता नै गरेर काम अघि बढार्इकाे हाे ।
जिल्ला अस्पतालको सेवा प्रभावित नहुने गरी बुंकोटमा सेवा सुरु गरिएको उनले बताएका छन् । यस अघि गोरखा नगरपालिका १० छेपेटारबाट पनि अस्पतालले दैनिक रुपमा बिशेषज्ञ डाक्टर सहितको सेटेलाइट क्लिनिक सञ्चालन गरिसकेको छ ।
बुंकोट स्वास्थ्य चौकीमा शुक्रबार संचालन गरिएको सो सेवाबाट ८० जना बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् । अस्पतालकी डा. सुचिता अमात्यायले बिरामीको स्वास्थ्य परिक्षण गराएकी हुन् ।
प्रतिक्रिया