काठमाडौं– हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएको छ ।
उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो । उन पहिलो फ्लाइटबाटै रुपन्देही लगिएको हो ।
हिजो रातभर जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई शनिवार बिहानै विमानस्थल लगिएको हो ।
उच्च अदालत, बुटवलका न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा सुनुवाई सकिए पछि पुनः पक्राउको आदेश दिइएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ ।
धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।
प्रतिक्रिया