+
Search

ताजा अपडेट +

पपुलर +

महानगर भित्रको विवाद सतहमा

ताल्चा फुटाएर महानगरको जिम्मेवारीमा फर्किए गुरागाईँ, हाजिर गर्न जाँदा घम्साघम्सी

4KNationalDaily
२०८१ चैत्र २१, बिहीबार १९:४५ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरुबिचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ ।

तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईँलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजे पनि उपमेयर सुनिता डंगोल, कर्मचारी र वडाध्यक्षहरूको सहायतामा हाजिरी गराइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामा हाजिर गर्ने वातावरण बनाइदिन पत्र पठाएको ठ्याक्कै एक महिनापछि बिहीबार उनी महानगरपालिका पुगेका हुन् ।

गुरागाईँ कार्यालय पुग्दा मेयर साहले उनलाई रोक्नको लागि नगर प्रहरी परिचालन गरेका थिए भने उनको कार्यकक्ष ताल्चा पनि लगाइ दिएका थिए ।

सोही क्रममा कर्मचारी र नगर प्रहरीबीच नै मुठभेड पनि भएको थियो । उपप्रमुख डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले उनलाई स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्न खोज्दा केही बेर ठेलाठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।

वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगर प्रहरीलाई रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोल, वडाध्यक्षहरूसहित कर्मचारी बैठक बसेका थिए । अनौपचारिक बैठकमा डंगोलले मेयर साहको आलोचना गरेकी थिइन् ।

उनले हरेक घटनाक्रममा आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् ।

डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाईँ हाजिर गरेर मन्त्रालय आएका थिए ।

मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलब भत्ता लिन नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily