+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल सुपर लिगमा ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै

नेपाल सुपर लिगमा ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै

4KNationalDaily
२०८२ बैशाख १३, शनिबार ०९:४७ बजे

नेपाल सुपर लिगमा ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै नेपाल सुपर लिग फुटबलको तेस्रो संस्करणको उपाधिका लागि साबिक विजेता ललितपुर सिटीले पोखरा थन्डर्सको सामना गर्र्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे ललितपुर र पोखरा आमनेसामने हुनेछन् । शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र उपाधिका लागि खेल्ने बताएका छन् । प्रतियोगितामा अपराजित ललितपुर सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ । पोखरा थन्डर्स पनि लयमै छ । ललितपुर सिटी अनन्त तामाङको कप्तानीमा मैदान उत्रँदा पोखरा थन्डर्सको नेतृत्व नवयुग श्रेष्ठले सम्हाल्ने छन् । साविक विजेता ललितपुर फाइनलको लागि तयायी अवस्थामा छ । पोखरा पनि बलियो टिम भएकोले फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यो सिजनको एक मात्र अपराजित टोली डिफेन्डिङ च्याम्पियन ललितपुरले लिग चरणमा तीन जित र तीन बराबरीसहित शीर्ष स्थान हासिल गरेको थियो । ललितपुरले पहिलो क्वालिफायरमा धनगढीलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । यता पोखरा थन्डर्सको यात्रा भने उतारचढावले भरिपूर्ण छ । सिजनको सुरुआतमा लगातार दुई हारले टिमको मनोबल खस्किएको आकलन गरिए पनि त्यसपछि अप्रत्याशित पुनरागमन गर्दै दुई जित र दुई बराबरीसहित आफ्नो दाबेदारी बलियो बनाएको हो । इलिमिनेटरमा एफसी चितवनलाई ३–० गोलले पछि पारेको पोखराले दोस्रो क्वालिफायरमा धनगढीविरुद्ध १–० को जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजक नेपाल स्पोट्र्स एन्ड इन्भेट म्यानेजमेन्टले तेस्रो संस्करणमा प्रतियोगिताको पुरस्कार रकम वृद्धि गरेको छ । अघिल्लो सिजनको तुलनामा विजेता र उपविजेता दुवै टोलीले पाउने रकम १० लाख रुपैयाँले वृद्धि गरिएको हो । तेस्रो संस्करणको नेपाल सुपर लिगको विजेताले ८० लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगीताको आठौं संस्करणको उपाधिका लागि विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धाबीच हुने भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एपीएफ र पुलिसबीचको उपाधि भिडन्त दिउँसो २ बजे सुरु हुनेछ । सेमिफाइनलमा एपीएफले टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफले पूर्वविजेता न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । एपीएफले न्यू डायमन्डलाई २५–१७, २५–२२, २३–२५, २५–२३ को सेटमा पराजित गरेको थियो । न्यू डायमन्ड छैटौं संस्करणको उपाधि विजेता हो । बाँकी सबै संस्करणमा एपीएफ क्लब च्याम्पियन भएको छ । दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–६, २५–२२, २५–२३ को सोझो सेटमा हराएर उपाधि यात्रा तय गरेको हो । तेस्रो स्थानका लागि आर्मी र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । राखेप कभर्डहलमा आर्मी र न्यू डायमण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्दा, दोस्रोले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्टलाई जनही २५ हजार रुपैयाँ दिइने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily