वासिङ्टन डीसी । अमेरिकी राज्य क्यालिफोर्निया विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ । त्यहाँका गभर्नर ग्याभिन न्यूसमले बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ) र अमेरिकाको आर्थिक विश्लेषण विभागको डेटालाई देखाउँदै यस्तो भनेका हुन् ।
डेटाका अनुसार क्यालिफोर्नियाको जीडीपी २०२४ मा ४१ खर्ब डलर पुगेको छ । सो अवधिमा जापानको जीडीपी ४० खर्ब १० अर्ब डलर थियो । यसको अर्थ क्यालिफोर्नियाभन्दा अगाडि अब जर्मनी, चीन र अमेरिका छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार मुलुकहरूमाथि लगाएको ट्यारिफ विरुद्ध बोल्दै गर्दा न्यूसमले राज्यको अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेका थिए । अमेरिकामा सबैभन्दा ठुलो औद्योगिक र कृषि उत्पादन क्यालिफोर्नियामा छ । नवप्रवर्तनको केन्द्र सिलिकन भ्याली पनि यही छ । न्यूसम प्रमुख डेमोक्रेटिक नेतामध्ये एक हुन् । २०२८ को राष्ट्रपति निर्वाचनका लागि यिनी सम्भावित उम्मेदवार पनि हुन् । ट्रम्पको ट्यारिफलाई चुनौती दिँदै न्यूसमले अप्रिल १७ मा मुद्दा हालेका थिए ।
तर चीनमाथि उच्च ट्यारिफका कारण यतिबेला अमेरिका र चीन व्यापार युद्धको अवस्थामा छन् । चीनबाट आउने सामानमा ट्रम्पले १४५ प्रतिशतन ट्यारिफ लगाएका छन् । यसको प्रतिकारमा चीनले पनि अमेरिकाबाट आउने सामानमा १२५ प्रतिशत ट्यारिफ लगाएको छ ।
पहिला नै लागिरहेको ट्यारिफमा नयाँ ट्यारिफ थपिँदा चिनियाँ सामानमाथिको ट्यारिफ २४५ प्रतिशत पुग्ने गएको हप्ता ट्रम्प प्रशासनले भनेको थियो । यस्तोमा न्यूसम राज्यको भविष्यप्रति चिन्तित बनेका छन् । ट्रम्पको ट्यारिफका कारण महँगी बढेर अमेरिका मन्दीमा जाने चेतावनी अर्थशास्त्री र बजार विश्लेषकहरूले दिइरहँदा ट्रम्पले भने यसको ठिक उल्टो राग अलापिरहेका छन् । ट्यारिफका कारण अमेरिकामा लगानी र रोजगारी फर्किने उनको दाबी छ ।
प्रतिक्रिया