बिस्का जात्रा भक्तपुरमा मनाईने ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रामा आज ५५ हात लामो लिङ्गो ढालिन्छ ।
चैत्र मसान्त अर्थात हिजो साँझ योसिङखेलमा ठड्याइएको लिङ्गो सूर्यमास अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात आज ढालिन्छ । आठ रात, नौ दिनसम्म मनाइने जात्रा सूर्यमास अनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि सुरु हुने गर्छ । बिस्का जात्रा न्यातपोलबाट प्यागोडा शैलीमा बनाइएको करिब ३० फिट अग्लो तीन तले भैरवनाथको रथ तानेर प्रारम्भ हुन्छ । रथ तान्ने र लिङ्गो उठाउने बिस्का जात्राको मुख्य आकर्षण हुन् । अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्याएपछि वैशाख ५ गते जात्रा सम्पन्न हुन्छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जात्रा अवधिभर भक्तपुरमा मदिरा बेचबिखनमा रोक लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ । साथै, जात्रामा हुनसक्ने झै–झगडा लगायतका क्रिकयाकलापमा रोक लगाउन भन्दै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसैबीच, आजै नेवार समुदायको बाहुल्य रहेका भक्तपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाउनुका साथै, काभ्रेको साँगा, धुलिखेलको श्रीखण्डपुर, दोलखा लगायत विभिन्न स्थानमा बिस्का जात्रा मनाइन्छ ।
प्रतिक्रिया