वैदेशिक रोजगार व्यवसायीसंघमा गुरुङको प्यानल नै विजयी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी हुनु भएको छ । आज बिहान सम्पन्न मतपरिणाम अनुसार गुरुङ ४ सय २८ मतसहित बिजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्दी नरेश गेलाले ३ सय ६७ मत प्राप्त गर्नुभयो । गुरुङको प्यानलबाट महासचिवसहित अधिकांश पदाधिकारी विजयी भएका छन् । गेलाल समूहबाट पदाधिकारी र सदस्यमा दुई दुई जनामात्र विजयी भएका छन् । महासचिवमा गुरुङ समूहका महेश कुमार बस्नेत, सचिवमा पनि सोही समूका कुन्छ दोर्दे दिङडोङ विजयी हुनु भएको छ । कोषाध्यक्षमा भने गेलाल समूहकी धनमाया सिन्जाली मगर विजयी हुनु भएको छ । संघको नेतृत्वका लागि यसपटक दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङले उम्मेदवारी दिनु भएको थियो । यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल चुनावी मैदानमा होमिनु भएको थियो । निर्वाचनमा कुल ८९३ प्रतिनिधि सूचीकृत भए पनि ८१३ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचनमा ९१ प्रतिशतभन्दा बढी मतदान खसेको थियो ।
वैदेशिक रोजगार व्यवसायीसंघ
वैदेशिक रोजगार व्यवसायीसंघमा गुरुङको प्यानल विजयी
२०८१ चैत्र ३०, शनिबार १०:०७ बजे

प्रतिक्रिया