२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सोमबार सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।
बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चितता आदि विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकलाई वार्तामा आउन आह्वान गर्दै शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको बताएका थिए ।
प्रतिक्रिया