+
Search

ताजा अपडेट +

पपुलर +

जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालन गर्न तत्काल १० करोड चाहिने

पालिका लाइभ
२०८१ चैत्र २१, बिहीबार २१:०२ बजे

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन् ।

बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रूपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए । त्यस्तै उनले प्रारम्भिक क्षति मूल्याङ्कनमा करिब २८ करोडको हाराहारीमा क्षतिको विवरण आएको र भोलि घटबढ हुनसक्ने पनि जानकारी दिए ।

उनले भने,‘घटनापछि निरन्तर रूपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरूको परिस्थिति अत्यन्तै जटिल छ । हामीले त्यो बुझिरहेका छौँ । अब यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मूल्याङ्कन गर्न सम्बन्धित प्राविधिकहरू, विज्ञहरू राखेर प्रारम्भिक मूल्याङ्कन गरेको छ । करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ ।’

त्यस्तै उनले केन्द्रलाई तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम आवश्यकता देखिएको भन्दै सञ्चालनको लागि मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको पनि बताए ।

‘तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम भयो भने अस्थायी रूपमा सञ्चालन गर्न सक्छौँ भन्ने कुरा आएको छ । त्यो सबै मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको छ । प्रक्रियागत रूपमा अगाडि बढ्दै छौँ ।’

उनले केही दिनभित्र चाँडै सबै प्रक्रिया पूरा गरेर केन्द्र सञ्चालन गर्ने पनि जानकारी गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ