गोरखा– लायन्स क्लब अफ गोरखा डायमन्डले लायन वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमिति चयन गरेको छ।
क्लबका अध्यक्ष लायन विकास परियारको अध्यक्षतामा बसेको बैठकले आगामी वर्षको लागि नेतृत्व चयन गरेको हो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा जोन चियरपर्सन लायन सबिन केसी, डिस्टिक्ट रिपोर्टिङ चिफ लायन यम बहादुर बसेललगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले सर्वसम्मत रूपमा लायन किसान थापालाई अध्यक्ष चयन गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको घोषणा गरेको हो।
बैठकमा लायन्स क्लबको आगामी कार्ययोजनाबारे छलफल गर्दै नेतृत्व हस्तान्तरण प्रक्रियालाई व्यवस्थित गर्ने विषयमा बहस भएको थियो। क्लबमा लामो समयदेखि सक्रिय रहेका नवनिर्वाचित अध्यक्ष किसान थापाले आफ्नो नेतृत्वमा क्लबलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले सामाजिक सेवाका गतिविधिहरूलाई विस्तार गर्दै सामुदायिक हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनाबारे जानकारी गराएका थिए। बैठकले प्रथम उपाध्यक्षमा लायन दिनेश बाबु सेन्चुरी, द्वितीय उपाध्यक्षमा लायन सन्तोष थापा, तृतीय उपाध्यक्षमा लायन निरञ्जन रमण खनाल, कोषाध्यक्षमा लायन ऋषि श्रेष्ठ, सचिवमा लायन सुरेश सुनार, क्लब एडमिनमा लायन भीम बहादुर भट्ट र सह सचिवमा लायन राजु थापालाई चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष थापाले आगामी जुलाई १ तारिखबाट आफ्नो कार्यकाल औपचारिक रूपमा प्रारम्भ गर्नेछन्। उनले क्लबको उद्देश्य र योजनालाई अझ व्यवस्थित बनाउँदै सामाजिक सेवाका गतिविधिहरूलाई तीव्रता दिने योजना बनाएका छन्। क्लबका पूर्वअध्यक्ष लायन विकास बाबु परियारले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आफ्नो कार्यकालमा हासिल उपलब्धिहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताए।
बैठकमा लायन्स क्लबको भूतपूर्व अध्यक्षहरू तथा वरिष्ठ सदस्यहरूले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। नवनिर्वाचित पदाधिकारीहरूले क्लबका सदस्यहरूसँग सहकार्य गर्दै सामुदायिक सेवा, स्वास्थ्य, शिक्षा तथा सामाजिक अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्लबका अध्यक्ष थापाका अनुसार बाँकी पदाधिकारीहरूको मनोनयन आगामी बैठकमार्फत गरिनेछ।
सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लायन्स क्लब अफ गोरखा डायमन्डले विगतमा स्वास्थ्य शिविर, शिक्षा प्रवर्द्धन कार्यक्रम, विपन्न वर्गका लागि राहत वितरण, वातावरण संरक्षण जस्ता विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।
नयाँ नेतृत्वको आगमनसँगै क्लबले नयाँ जोश र उत्साहका साथ सामाजिक उत्तरदायित्वलाई अघि बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया