काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको मापदण्ड नै सरकारले संशोधन गरेको छ । २४ गते गभर्नर महाप्रसाद अधिकारीको पदावधि सकिँदै छ ।
नयाँ गभर्नर नियुक्तिको प्रक्रिया चल्दै गर्दा सरकारले गभर्नर नियुक्तिको मापदण्ड नै संशोधन गरेर उमेरहद हटाएको छ । यसअघि उमेरहद ६५ वर्ष तोकिएकोमा अहिले उमेरहद हटाएर मापदण्ड बनाएको छ । अब ६५ वर्ष पुगेको व्यक्ती पनि गभर्नरका लागि योग्य हुनेछन् ।
मापदण्डको दफा ३ को ‘ग’ मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो। उक्त व्यवस्थाअनुसार मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो। अहिले त्यो बुँदा नै हटाइएको छ।
अर्थ मन्त्रालय अन्तरगत पर्ने नियुक्ति सम्बन्धी मापदण्ड २०७३ अहिले संशोधन गर्दै मापदण्डको दफा ३ मा गभर्नरका लागि योग्यता सम्बन्धी व्यवस्था छ । उक्त मापदण्डमा दफा ३ मा नियुक्तिको योग्यतामा (क), (ख), (ग) रहेको छ । सो मापदण्डको (ग) भने हटाइएको छ ।
सरकारले राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समितिसमेत गठन गरिसकेको छ । गभर्नर नियुक्तिको मुखैमा मापदण्ड संशोधन गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषदले यसअघिकै मापदण्डमा रहेर अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।
सिफारिस समितिले आज बसिरहेको मन्त्रिपरिषदको बैठकमा प्रत्यासीमध्येका तीन जनाको नाम सिफारिस गर्न सक्ने आकलन गरिरहँदा अर्थ मन्त्रालयले नियुक्तिसम्बन्धी नयाँ मापदण्ड ल्याएको हो।
अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने सम्भावनाका बीच नयाँ मापदण्ड जारी हुँदा केही मुख्य प्रतिस्पर्धी भने प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्।
मुख्य प्रतिस्पर्धी मानिएका नेपाल सरकारका पूर्वमुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री मापदण्डबाहिर परेका छन्। सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको भन्ने व्यवस्थाले उनलाई गभर्नर बन्ने दौडबाट पछाडि धकेलेको छ भने अन्य प्रतिस्पर्धी मापदण्डभित्रै देखिएका छन्।
हालसम्म राष्ट्र बैंककै डेपुटी गभर्नर नीलम ढुंगाना, बमबहादुर मिश्र, सञ्चालक रवीन्द्र पाण्डे, पूर्वकार्यकारी निर्देशक तथा योजना आयोगका सदस्य प्रकशकुमार श्रेष्ठ, नबिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्ट प्रतिस्पर्धामा छन्।
नयाँ मापदण्डसहित
प्रतिक्रिया