काठमाडौं– माओवादी केन्द्रकी सांसद रेखा शर्माले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रतिर जाने कुरा विकल्प नभएर पश्चगमन मात्रै रहेको बताएकी हुन् । पश्चगमनको पक्षमा आफूहरू यसअघि कोही पनि नरहेको र नहुने पनि बताइन् ।
उनले भनिन्, ‘गत चैत १५ गते देशको राजधानी काठमाडौंमा दुईवटा कार्यक्रम भए । समाजवादी मोर्चाको नाममा हाम्रो पार्टीसहित ५० औँ हजारको उपस्थितिमा जनप्रदर्शन भयो । गणतन्त्रको पक्षमा, संविधानको पक्ष, परिवर्तन परिवेशको पक्षमा आफ्नो दृढता व्यक्त गर्यौँ । तीनकुनेको प्रदर्शनको प्रत्यक्ष कमान्ड कथित कमान्डर दुर्गा प्रसाईँले गरेका छन् । तर, हामी सबैले के बुझेका छौँ भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । उनको उक्साहटमा, उनले पटक–पटक गरेका आह्वानमा, अपिलमा युवाहरू समाहित भएका छन् । म सरकारसँग सभामुखमार्फत के माग गर्न चाहन्छु भने–राजतन्त्र अहिलेको व्यवस्था होइन । संविधान भन्दामाथि कोही छैन । कानुनभन्दा माथि कोही छैन । त्यसकारण चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय, अहिले लुकेर बसेका दुर्गा प्रसाईँ हुन् । सबैलाई कारबाही गरोस् ।’
उनले तीनकुनेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह र कथित जनकमान्डर दुर्गा प्रसाईँलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत सरकारसँग माग गरिन् । उनले अहिलेको राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्न नै बेकाम रहेको बताइन् ।
उनले माओवादीले गरेको १० वर्ष सशस्त्र संघर्षको जगमा २०६२÷०६३ सालको जनआन्दोलन भएको र आफूहरू राजतन्त्र फाल्नकै लागि १० वर्ष जनयुद्ध लडेको बताउँदै उनले व्यवस्थालाई चुनौती दिने कुरा स्वीकार्य नरहेको बताइन् ।
उनले भनिन्, ‘अहिले गणतन्त्र कि राजतन्त्र ? यो बहस गर्ने ठाउँमै अहिले छैनौँ । किनभने संघीय लोकतान्त्रिक गणतन्त्र हामीले निरङ्कुश राजतन्त्रको विरुद्धमा लडेर ल्याएका हौँ । लडेर ल्याएको व्यवस्थामा सबैको अपनत्व छ । २०६२÷०६३ को आन्दोलन १० वर्षे जनयुद्धको जगमा भएको थियो । त्यो आन्दोलन बगेको हजारौँ जनताको रगतको प्रतिफल स्वरूप यो गणतन्त्र प्राप्त भएको हो ।’
प्रतिक्रिया