+
Search

ताजा अपडेट +

पपुलर +

कोइराला परिवारका एक मात्र कम्युनिस्ट कमल : बिपीलाई यसरी सम्झन्छन् 

पालिका लाइभ
२०८१ चैत्र १८, सोमबार १४:०६ बजे

काठमाडौं- वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइराला आफू कम्युनिस्ट विचारधाराको व्यक्ति भए पनि प्रजातान्त्रिक आन्दोलनका प्रणेता बिपी कोइरालाप्रति सधैँ नतमस्तक भएको एक कार्यक्रममा स्मरण गरेका छन् ।

नेपाल प्रेस युनियनले २०८१ भदौ २३ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम वीपीप्रति सहभाव व्यक्त गरेका हुन् ।

विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बनेका बिपीले व्यक्त गरेका विचारले पत्रकारितामा उच्च सम्मान रहेको औँल्याएका हुन् ।

सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको बताए । सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गरे ।

‘पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बिपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ’ बिपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहेका कोइरालाले भनेका छन् ।

गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बिपीको विचार रहेको उनले जानकारी गराए । पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिस्ट पार्टी निकट रहेका मदनमणि दीक्षितलाई सरकारका गलत कामको आलोचना गरेर लेख्नु भनेको कुरा पनि उनले स्मरण गरे ।

पूर्वराजदूतसमेत भइसकेका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो ।

पूर्वप्रधानमन्त्री कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा काम गरेका थिए ।

(बीपीबारे कमल कोइरालाको भिडियो मन्तब्य नेपाल न्यूज बैंकको अर्काइभबाट ल्याइएको हो)

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ