काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै निकायहरूले कानुनले दिएको आम्दानीको स्रोतहरूको खोजी गर्न आग्रह गरेका छन् ।
आइतबार विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र)को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरू खोज्न र कानुन बनाएर काम गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘आम्दानी केही छैन, किन नगरेको ? भवनहरूको आचारसंहिता हुनुपर्दथ्यो त्यसपछि केही पहल गर्न सकिन्थ्यो, केही शुल्क लगाउन सकिन्थ्यो, त्यसैले आम्दानीको स्रोतहरू खोज्नुपर्यो । कानुनले दिएको आम्दानीको स्रोतहरू खोज्नुपर्यो । कानुन बनाएर गर भनेको ठाउँमा कानुन बनाउनुपर्यो । नत्र प्रदेश सभाहरूको के काम भयो र । नगर सभाको सदस्यहरू सबै आफ्नो नगरको विधायक हुन् प्रदेशलाई किन दिने स्थानीय विधायनले पनि केही न केही प्रवर्द्धन गर्नुपर्यो ।’
उनले विद्यालय, स्वास्थ्य चौकी र प्रहरी कार्यालयहरूमा ल्यापटपसम्म नहुनु दुःखद कुरा भएको भन्दै सबै ठाउँमा इन्टरनेट उपलब्ध गराउने पनि बताए ।
उनले राज्यले धेरै खर्च गरेको तर काम नदेखिएको भन्दै ‘संघीय सांसदलाई हात्ती भन्दै प्रदेश सांसदलाई बाख्राको संज्ञा दिए ।
‘संघीय सांसद त हात्ती नै भए । तीनलाई १० भारी घाँस दिनुपर्यो । प्रदेश अन्तर्गतका बाख्रा भए एक मुठा घाँस चाहियो । स्थानीयलाई पनि चाहियो । जिम्मेवारीसहित तल भत्ताको रूपमा होला । राज्यको धेरै खर्च हुँदा कहीँ न कहीँ त देखिनु परेन राज्यले अधिकतम उपयोग गर्न सक्नुपर्यो,’ उनले भने ।
प्रतिक्रिया