+
Search

ताजा अपडेट +

पपुलर +

राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्‍यो : प्रचण्ड

पालिका लाइभ
२०८१ चैत्र १६, शनिबार १८:४० बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजावादीहरूको षडयन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

समाजवादी मोर्चाले ठुलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरूले ठुला आपराधिक घटना गराउने दाबी गरे।

उनले आफूले राजावादीहरूले ठुला घटना गराउने योजना बनाएको सूचना पाएको दाबी गरे।

उनले भने, ‘आज बिहान धेरै मानिसहरूले मलाई सम्पर्क गरेर भन्नुभयो, तीनकुनेका जनताले पनि देशभर हजारौँको सङ्ख्यामा जनतालाई नउतारेको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको आफ्नो कमिटमेन्टलाई नगरेको भए त्यतिमात्रै होइन अझ ठुला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्‍याउने षड्यन्त्र थियो। धेरैको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो। दुई जनाको ज्यान गयो, थुप्रै गाडीहरू घरहरू जलाइए। संघ संस्थाका कार्यालय, पार्टीका कार्यालय जलाइए। तर मलाई जनताले भनेको कुरा बुद्धिजीवीहरूले भनेको कुरा यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक शक्तिले त्यो स्तरको प्रदर्शन नगरेको भए आततायीहरूको योजना र रणनीति यो भन्दा भयानक थियो।’

उनले राजावादीहरूलाई आततायी र विवेक शून्य तत्त्वको संज्ञा दिँदै विगतमा निरङ्कुश राजतन्त्र सत्तामा हुँदा प्रेसलाई अंकुस लगाउने काम गरेको भन्दै राजावादीहरूको आक्रमणको निशाना पनि प्रेस नै भएको जिकिर गरे।

सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्त्वसँग सचेत बन्नुपर्ने उनको भनाइ छ।

प्रचण्डले गणतन्त्रवादी दल लोकतन्त्रप्रतिको प्रतिबद्धता र संकल्प स्थापित गर्नका लागि ठुलो सङ्ख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रस्तुत गरेको जिकिर गरे।

गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरूले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ