+
Search

ताजा अपडेट +

पपुलर +

बेवास्ता गरेपछि......

वडाध्यक्ष ४४ दिनदेखि धर्नामा, माग पूरा नभए अर्का वडाध्यक्ष पनि धर्नामा बस्ने चेतावनी

पालिका लाइभ
२०८१ चैत्र १३, बुधबार २१:३१ बजे

जनकपुर– धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् ।

शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनलगायत विभिन्न माग राख्दै माघ २८ गतेदेखि नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन र सफाइ व्यवस्थापनको माग गर्दै मेयर कारीराम यादवलाई पटक–पटक प्रस्ताव पेश गरे पनि बेवास्ता गरिएको आरोप लगाए । पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा छलफल नहुनु आफूप्रति अन्याय गर्न खोजिएको उनको दाबी छ।

वडाध्यक्ष यादवका अनुसार विद्यार्थी सङ्ख्याको अनुपातमा ७० भन्दा बढी शिक्षकको अभाव छ, जसले शैक्षिक गुणस्तरमा असर पारेको छ। साथै, वडा कार्यालयमा कम्प्युटर अपरेटर नहुँदा स्थानीयवासीलाई सेवा लिन कठिनाइ भइरहेको छ ।

उनले शिक्षक पूर्ति, सामाजिक सुरक्षा भत्ता प्रत्येक वडामा गई वितरण गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र गाउँमै बनाएर वितरण गर्ने व्यवस्था गर्नुपर्ने, र प्रत्येक वडा कार्यालयमा कम्प्युटर अपरेटरको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

वडा न ९ का वडाध्यक्ष मनिषकुमार रायले वडाध्यक्ष यादवको माग चाँडै सम्बोधन नभए आफू पनि वडा कार्यालय बन्द गरी धर्नामा बस्ने चेतावनी दिए।

यता, मेयर कारीराम यादवले केही जायज मागहरू कार्यान्वयनमा रहेको बताए। उनले सामाजिक सुरक्षा भत्ता र राष्ट्रिय परिचयपत्र गाउँ–गाउँमै गएर वितरण गर्नुपर्ने माग सुरक्षा तथा प्राविधिक दृष्टिले व्यवहारिक नभएको प्रतिक्रिया दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ